स्मृतिबाट हराउँदै इराक हत्याकाण्ड

१८ वर्षअघि १२ नेपालीको बीभत्स हत्या

0
Shares

काठमाडौं  । 

वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको बीभत्स हत्या भएको १८ वर्ष पूरा भएको छ । १८ वर्षअघि अर्थात् २०६१ भदौ १६ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीलाई बीभत्स रूपमा हत्या गरेको भिडियो सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शन भएको थियो । काठमाडौं उपत्यकामा कफ्र्यु जारी गर्नुपरेको थियो ।

रोजगारीको खोजीमा इराक पुगेका १२ नेपाली सोही वर्षको भदौ ४ गते आतंककारीको अपहरणमा परेका थिए । बन्धक बनाएपछि एक जनाको घाँटी रेटेर र बाँकी ११ जनाको गोली प्रहार गरी हत्या गरेको थियो ।

वैदेशिक रोजगारीका लागि पुगेका नेपाली कामदारले विदेशी भूमिका अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अहिले पनि छ । केही वर्षअघि अफगानिस्तानको काबुलामा आतंकवादी समूहको आक्रमणमा परी १२ जना नेपालीले ज्यान गुमाउनुको परेको थियो । इराकमा भएको बीभत्स घटनाको भिडियो सार्वजनिक भएसँगै काठमाडौं उपत्यका बढेको हिंसात्मक घटनाले म्यानपावरका कार्यालय, मस्जिद, मुस्लिम समुदायका व्यापार व्यवसाय, सञ्चारगृह तोडफोड हुँदा करोडौं क्षति भएको थियो ।

इराक घटना सार्वजनिक भएकै दिन २०६१ भदौ १६ मा करिब ३ सय म्यानपावर कार्यालयमा आगजनी हुँदा २ हजार ९ सयभन्दा बढी भिसा लागेका राहदानी र करिब ६ हजार भिसा नलागेका राहदानी जलेर नष्ट भएका थिए ।

शुरूका वर्षमा जस्तो यस वर्ष घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली सभा कार्यक्रम राखेका छैनन् । जस कारण उक्त घटना नेपालीको स्मृतिबाट हराउँदै गएको हो कि भन्ने आभास दिलाउन थालेको छ । न यो घटनाबारे सरकारले चासो राखेको छ, न त निजी क्षेत्रले नै इराक घटना सम्झन चाहेका छन् । अहिले पनि अवैध ढंगले रोजगारीका लागि इराक जान नेपाली युवायुवतीले छाडेका छैनन् ।