उच्च अदालत दिपायलका रजिस्टार कटवालविरुद्ध मुद्दा दायर

0
Shares

काठमाडौं । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत दिपायलका रजिस्टार रणबहादुर कटवालविरुद्ध सार्वजनिक सम्पति हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । निज कटवालले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो ।
निजलाई सोही ऐनको दफा ३ (१) को (घ) बमोजिम कैद सजाय र चार लाख ५८ हजार ९ सय ९५ रुपियाँ बिगो कायम गरी हानी नोक्सानी भएको बिगो असुल उपर हुन समेत मागदाबी गरिएको छ ।

कटवालले आफ्नो पदीय दुरुपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौता समेत बनाई आफैं स्वीकृत गरी प्रायः आफंैले शोधभर्ना लिँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ । त्यसै गरी सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटल खर्च भएको स्वीकृति गरी बिल भरपाई बनाई आफैंले भुक्तानी लिएको पनि आयोगले जनाएको छ ।

त्यसै गरी उहाँमाथि कतिपय स्टोर किपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यवसायीहरूसँग अफिसको हिसाब किताब मिलाउन भनी बिल ल्याई हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने गरेको आरोप लगाइएको छ । कटवालले किर्ते गरी मिति सच्याई भ्रमण काजको भुक्तानी लिनेलगायतको फर्जी कार्यको आफैं सदर गरी भुक्तानी लिने-दिने कार्यगरी चार लाख ९८ हजार ९ सय ९५ भुक्तानी भएको भनी देखाई सरकारी रकम हानी नोक्सानी गरेको आयोगको पत्रमा उल्लेख गरिएको छ ।

आरोपपत्रमा भनिएको छ– ‘निज कटवाल आफैंले उच्च अदालत दिपायलको, हलुका सवारी चालकको रूपमा आफ्नै श्रीमतीको नामबाट काल्पनिक कागजात तयार गरेको, स्थायी शिक्षिकाको रूपमा कार्यरत रहेकी आफना श्रीमतीलाई २०७६ चैत्रदेखि असारसम्म चार महिनाको लागि कम्प्युटर अपरेटर पदमा आफैंले करार सम्झौता गरेको कागजात बनाई १ लाख १२ हजार रुपियाँ पारिश्रमिक भुक्तानीको लागि प्रयास गरेको थियो । निज रजिस्टारको सो कार्य सरकारी सम्पति हानी नोक्सानी गर्ने र गराउने कसुरअन्तर्गत पर्न आउँछ ।’