प्रहरीले जाहेरी लिन मानेन

शिक्षामन्त्रीले माइन्युट बुझे, त्रिविलाई जानकारी छैन

0
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकबाट माइन्युटलगायत महत्वपूर्ण कागजात लुटपाट गर्नेमाथि कारबाही माग गर्दै विश्वविद्यालय कार्यकारी परिषद्ले दिएको जाहरी प्रहरीले लिन इन्कार गरेको छ । नेविसंघका विद्यार्थी नेता योगेन्द्र रावल र श्यामराज ओझाको नाममा जाहेरी दिँदा प्रहरी वृत्त दरबारमार्गले लिन इन्कार गरेको विश्वविद्यालयले जनाएको छ ।

१० गते कार्यकारी परिषद्को बैठक थियो । बैठक भइरहँदा नाराबाजी गरी माइन्युट खोस्न पुगेको रावल र ओझाको टोलीले हातपात गरी महत्वपूर्ण कागजात लुटेर लगेका थिए । माइन्युटसहित लुटपाटमा संलग्नमाथि पक्राउ गरी कारबाही गर्न माग गर्दै त्रिवि कार्यकारी परिषद्ले किटानी जाहेरी दिएको थियो । दरबारमार्ग वृतका प्रहरी टोलीले जाहेर नलिई माइन्युट र कागजात लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जान निर्देशन दिएको थियो । कार्यकारी परिषद्का अधिकृत रत्न महर्जनले यही १२ र १३ गरी दुईपटक सम्म जाहेरी दर्ता गर्न पुग्दा प्रहरीले इन्कार गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी जाहेर दिन गएका थियौं, प्रहरीले त माइन्युट लिन मन्त्रालय जानुस् भनेर भन्ने गरेको छ ।’ त्रिविले दुई विद्यार्थीलाई कुनै पनि हालतका कारबाही गर्न माग गर्दै जाहेर दर्ता गराउने भएको छ ।

नेपाली कांग्रेस आवद्ध विद्यार्थी भएकोले माथिकै आदेशममा दरबारमार्ग प्रहरीले जाहेरी दर्ता गर्न नमानेको त्रिविको आरोप छ । प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक विकास तामाङले जाहेरी नभई निवेदन भएको बताउनुभयो । माइन्युट बुझाइसकेपछि किन मुद्दा दर्ता गर्ने भन्दै उहाँले भन्नुभयो– ‘थप विषयमा जानकारी दिन छ भने जिल्ला प्रहरी परिसरका प्रवक्तालाई बुझनुस् ।’ माइन्युट लुटेपछि विद्यार्थी नेता रावल र ओझालगायतले मन्त्री पौडेलको कार्यकक्षमा पुगेर फोटोसेसन गरी माइन्युट बुझाएका थिए ।

गठबन्धनको सरकारमा आबद्ध भएका कारण मन्त्री पौडेलले लुटेर ल्याएको माइन्युटलगायतका काजगात सजिलै बुझेर विद्यार्थीलाई धन्यवाद दिनुभएको थियो । स्रोतका अनुसार माइन्युट भेटेको विषयमा त्रिविका सहकुलपति समेत रहनुभएका मन्त्री पौडेलले जानकारी त्रिविका पदाधिकारलाई औपचारिक रूपमा जानकारी दिनुभएको छैन । त्रिविले कानुन महाशाखा र कार्यकारी परिषद्का ३ पदाधिकारी, दुई जना डीन र दुई जना शिक्षकसहित ७ जना पदाधिकारीको सहयोगमा किटानी जाहेरी तयार गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता श्याम मैनालीले माइन्युट प्राप्त भइसकेको अवस्थामा दर्ता गर्नु आवश्यक नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘यस्तो विषम परिस्थितिमा बैठक बस्दा प्रहरीलाई जानकारी दिनुपर्ने थियो । नदिइकनै बैठक बस्नुभयो, अहिले जाहेरी दर्ता गर्नुस् भनेर दवाब दिनुभएको छ । उहाँले यो विषयमा छलफल भइरहेको बताउनुभयो ।’ कार्यकारी परिषद्का अधिकृत महर्जनले जाहेरी दर्ता नगर्नु विडम्बना भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– ‘गोप्य बैठकमा प्रहरीलाई जानकारी दिन पर्दैन । कार्यकारीको बैठकमा त्रिविका अन्य कसैलाई जानकारी दिनपर्ने अवस्था छैन ।’

यसअघि त्रिविका सहप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गरी मरणासन्न बनाउने घटनामा संलग्न रावलकै नेतृत्वमा माइन्युटलगायत कागजात लुटपाट भएको थियो । चलाउनेलाई सांघातिक आक्रमण गरी मुद्दा खेपेका रावल ६ लाख धरौटी बुझाएर छुटेका थिए । अहिले उनकै नेतृत्वमा त्रिविमा लफडा भइरहेको छ । मन्त्री पौडेलले तिनै विद्यार्थी नेता रावलले बुझाएका ज्ञापनपत्र बुझ्नुभएको थियो । उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले माइन्युट च्यात्नेमाथि कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘जाहेरी दर्ता नभएसम्म माइन्युट लिने अवस्था नभएको पदाधिकारीको भनाइ छ ।’