एमालेले राष्ट्रियस्तरमा मोर्चाबन्दी नगर्ने

0
Shares

काठमाडौं । 

नेकपा एमालेले आगामी निर्वाचनमा राप्रपासहित साना दलहरूसँग तालमेल गरेर जाने बहस चले पनि राष्ट्रियस्तरमा गठबन्धन नहुने भएको छ । नेपाली कांग्रेसबाहेकका दलहरूसँग स्थानीयस्तरमा चुनावी एकता गरेर जाने तर राष्ट्रियस्तरमा मोर्चाबन्दी नगर्ने एमालेले जनाएको हो ।

सत्तारुढ गठबन्धनको जस्तै केन्द्रीयस्तरमा मोर्चाबन्दी गरेर भागबण्डामा नजाने एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘तालमेलको विषय फाइनल भएको छैन, हामी स्थानीय जनमत हेरेर तालमेल गर्ने गर्छाैं, तर राष्ट्रियस्तरमा सत्ता गठबन्धनको जस्तो मोर्चाबन्दी गर्दैनौं ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेबीच प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर निर्वाचन लड्ने सहमतिको नजिक बताइए पनि छलफल चलिरहेको ज्ञवालीले जानकारी दिनुभयो । केही दिनदेखि २ दलका नेताहरूले देशभर तालमेलका विषयमा छलफल गरिरहेका थिए । दुवै दल आगामी प्रतिनिधि सभा र प्रदेश सभामा तालमेल गर्ने लगभग सहमतिमा पुगेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताउनुभयो । सिट संख्याका विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।

राप्रपाका तर्फबाट सिट बाँडफाँटमा केही बाँकी रहेको र ‘आजभोलि’मा त्यो पनि टुंग्याउने तयारीमा रहेको बताए पनि एमाले उपाध्यक्ष ज्ञवालीले स्थानीय आवश्यकताअनुसार पार्टीलाई फाइदा पुग्ने ठाउँमा मात्रै तालमेल गरेर जान सकिने बताए ।एमालेका दोस्रो तहका नेताहरूसँग राप्रपाले केही दिनदेखि वार्ता गरिरहेको थियो । अब दुई दलका अध्यक्ष र पदाधिकारीस्तरमा छलफल हुने राप्रपाले जनाएको छ । तर, एमालेले भने सबै ठाउँमा तालमेल गरेर जाने अवस्था नहरेको बताएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक्लै लडेको राप्रपाले करिब करिब तेस्रो राजनीतिक दलको मत पाएकाले सोहीअनुसारको दाबी गर्ने राप्रपाको दाउ छ । जसअनुसार राप्रपाले एमालेसँग २० सिटको दाबी गरे पनि सिट संख्यामा तल माथि हुन सक्ने राप्रपाका उपाध्यक्ष तामाङले बताए ।राप्रपाको बलियो मत भएको क्षेत्रमा र आफ्ना ‘हेबिवेट’ उम्मेदवारहरूलाई लक्षित गरेर सिट दाबी गर्ने तयारीमा छ । एमालेका नेताहरू पनि आफूहरूको संगठन केही कमजोर र राप्रपालगायत साना बाम दल समेतको संगठन जोड्दा बलियो भएको क्षेत्रमा तालमेल गरेर जाने पक्षमा सहमति नजिक रहेका छन् ।

राप्रपाले प्रदेश १ देखि कर्णाली प्रदेशमा गरी २० वटा निर्वाचन क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा ३ सहित कर्णाली प्रदेशको जुम्लामा पनि राप्रपाले दाबी गरेको छ । राप्रपाले झापा ३, सिन्धुपाल्चोक २, मोरङ (कुनै एक) काठमाडौं २, काठमाडौं ४, जुम्ला, नुवाकोट (कुनै एक), धादिङ (कुनै एक), चितवन ३, मकवानपुर (कुनै एक), बाँके २, कपिलवस्तु (कुनै एक) र रूपन्देही (कुनै एक) क्षेत्रमा दाबी गरेको छ ।

यस्तै, अन्य क्षेत्रमा पनि दाबी प्रस्तुत भएको र छलफलकै क्रममा रहेको राप्रपाका नेताको भनाइ छ । उता एमाले भने राप्रपाको यो प्रस्तावमा सहज स्वीकार गर्ने पक्षमा छैन । एमालेले आफ्नो दल बलियो हुने गरी स्थानीयस्तरमा जोसुकै दलसँग तालमेल गरेर जान सक्ने ज्ञवालीले प्रस्ट पार्नुभयो । चुनावी तालमेलबारे एमाले अध्यक्ष ओलीसँग राप्रपा अध्यक्ष लिङ्देनले बालकोट पुगेरै यसअघि कुराकानी गर्नुभएको थियो । राप्रपाका महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले पनि ओलीसँग भेट गर्नुभएको थियो । सत्तारुढ दलहरूले गठबन्धन गरेकाले एमाले र राप्रपा दुवैलाई तालमेलको खाँचो रहेको भन्ने विषयमा दुवै दलका नेताहरू सहमत छन् ।