सिद्धार्थ राजमार्ग भासिदा यातयात अवरुद्ध

0
Shares

बुटवल । बुटवल तानसेन–सडकखण्ड अन्तर्गत हिउँदे खोलामा माथिबाट लेदोसहितको पहिरो खस्दा बिहीबार दिउँसोदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग नै भासिएका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो ।

उहाँका अनुसार अहिले राजमार्ग पूर्णरूपमा बन्द छ । मोटरसाइकल समेत चल्न सक्ने अवस्था छैन । ठूलो पहिरो र राजमार्ग नै भासिएको हुँदा सञ्चालन हुनेबारे अन्योल रहेको थापाले बताउनु भयो ।

दिउँसो साढे ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो। कैयौं सवारीसाधन रोकिएका छन् । टाढा टाढा पुग्ने सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त र प्रहरी उपरीक्षक जनक शाही सहित सुरक्षाको टोली पहिरो स्थल पुुगेको डिएसपी थापाले बताउनु भयो ।