गठबन्धनमा भगबण्डा अझै मिलेन

0
Shares

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनभित्र आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कसले कति सिट लिएर जाने भन्ने विषय टुंगो लाग्न सकेको छैन । सत्ता गठबन्धनमा सामेल दलहरुले सिट संख्या दाबीको पुरानै अडान नछाडेपछि निर्णय निस्कन नसकेको हो ।

विगत ३ हप्तादेखि प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटका सम्बन्धमा गम्भीर छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।

यसअघि नै नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका थिए ।

सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल भइरहे पनि पुरानै अडान नछाडेपछि आजसम्मका बैठकहरु विना निष्कर्ष टुंगिएका छन् ।

कांग्रेसका नेता डा. शेखर कोइराला समूहले प्रतिनिधिसभा सदस्य निर्वाचनमा १०० सिटभन्दा तल झरेर आफ्नो पार्टीले निर्णय गर्न नहुँने दावी गर्दै आएको थियो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा समेत सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा आफ्नो पार्टीले १०० सिट पाउनुपर्नेमा डा. कोइरालाले दोहोर्याएउनु भएको थियो ।

अन्य दलहरुले पनि आफ्नो अडान छाडेका छैनन् । कार्यदलको बैठकले भागबण्डाको आधार तय गर्ने भनिए पनि अहिल्यैँ निष्कर्ण निस्कने छाँट देखिएको छैन । भागबण्डा मिलाउनका लागि आज पनि गठबन्धन कार्यदलको बैठक बसिरहेको छ ।