ठोरी-केरुङ लोकमार्ग निर्माणको चर्चा सेलाउँदा ठोरीबासी निराश

0
Shares

कृष्णउदास खनाल वीरगन्ज । भारतीय नाकाबन्दीताका २०७२ सालमा बनाउने भनिएको ठोरी–केरुङ लोकमार्ग निर्माणको चर्चा सेलाउँदा ठोरीबासी निरास छन् । त्यतिबेला देशलाई इन्धन र अन्य दैनिक उपभोग्य वस्तुको माग धेरै हदसम्म ठोरी नाकाले धानेपछि सर्वसाधारणदेखि राष्ट्रिय नेताहरूले समेत ठोरी–केरुङ लोकमार्ग निर्माणको माग गरेका थिए ।

चीन र भारतलाई तीन घण्टाको सडक यात्रामा जोड्न सकिने छोटो अन्तर्राष्ट्रिय व्यापारिक मार्गको रूपमा यसको चर्चा त्यतिबेला चुलिएको थियो । ठोरीबासीले त यो मार्ग निर्माणका लागि दबाब स्वरूप भागवत सप्ताह र त्यससँगै ठोरीदेखि केरुङसम्म मोटरसाइकल ¥यालीसमेत निकालेका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको संसदीय क्षेत्र भएर गुज्रिने यो मार्ग निर्माणबारे उहाँले लामो समयदेखि बोल्दै आएपनि प्रगति भने सुन्य छ । ठोरीका युवा व्यवसायी सुदीप थापा ठोरी–केरुङ मार्ग निर्माण भएपछि नेपाल–भारत र चीनजस्ता दुई छिमेकी मुलुकको ट्रान्जिटको रूपमा स्थापित हुने र यसले नेपाललाई पनि संघीय राजधानी काठमाडौंसँग एउटा छोटो दूरीको नाका उपलब्ध हुने बताउनुभयो ।

उहाँले एक महिनाअघि सीमापारि भारत भ्रमणमा जाँदा त्यहाँ बेतिया क्षेत्रबाट निर्वाचित भारतीय सांसद शैलेन्द्र गडुवालसँग आफूले भेट गर्दा उहाँ पनि यो मार्ग निर्माणको विषयमा गम्भीर रहेको आफूले पाएको बताउनुभयो ।

२०६९ सालदेखि रसुवा स्याफ्रुबेंसी–धादिङ गल्छीसम्मको सडक निर्माणको काम नेपाली सेनाले गरिरहेको र चितवनको भण्डारादेखि मलेखुसम्म चेपाङ मार्ग कालोपत्रे काम पनि धेरै हदसम्म भइसकेकाले अब यो मार्गमा चितवनको भण्डारादेखि ठोरीसम्म मात्र काम हुन बाँकी रहेको थापाको भनाइ छ ।स्थानीय प्रकाश खनालले संघीय सरकारसँग यो लोकमार्ग निर्माणको माग राख्दै आए पनि सरकार गम्भीर नभएको बताउनुभयो ।

स्थानीय शिक्षक चिरञ्जीवी सापकोटा यो मार्ग निर्माण हुनुपर्छ भन्नेमा ठोरीवासी मात्र नभई भारतको एउटा पक्ष पनि जोडदार लागेको बताउनुभयो । यो मार्ग बनाउनका लागि गरिएको अध्ययनले ३० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।

३ दशमलव ५ किलोमिटर सुरुङमार्ग निर्माण गर्न १४ अर्ब रुपैयाँ र बाँकी बाटो बनाउन १५/१६ अर्ब रुपैयाँ लाग्ने उक्त अध्ययनले देखाएकोछ । केरुङ र ठोरी दुबै व्यापारिक नाका हुन्, रसुवागढीदेखि चीनको व्यापारिक नाका केरुङ पुग्न २५ किमि र पर्साको ठोरीदेखि भारतको व्यापारिक सहर नरकटिमागन्ज पुग्न १२ किमि पार गर्नुपर्छ ।