गठबन्धनका शीर्ष नेतालाई चुनावी क्षेत्र रोज्न मुस्किल

शेरबहादुरको डडेलधुरा निश्चित, माधव–प्रचण्डको क्षेत्र कुन ?

0
Shares

काठमाडौं । 

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भएसँगै सिट बाँडफाँटको विषयमा व्यापक छलफल भइरहेको छ । सिट संख्या वितरणको मापदण्डका विषयमा दलहरूबीच टुंगो लागिनसके पनि पार्टीका शीर्ष नेताहरू चुनाव लड्ने पक्काजस्तै छ ।

सत्ता गठबन्धन दलका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव प्रत्यक्ष निर्वाचनमा भाग लिन चाहन्छन् । उनीहरू कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्लान भन्ने आम चासोका साथ हेरिएका बेला गठबन्धनको नेतृत्व गरेका कांग्रेस सभापति देउवा आफ्नै गृह जिल्ला डडेलधुराबाट चुनाव लड्ने पक्का भएको छ । देउवाले आफ्नो क्षेत्रबाट मनोनयन दर्ता गराएपछि चुनाव जित्ने करिब पक्काजस्तै भएकाले उहाँले अन्य क्षेत्रमा जाने विषयमा नसोचेको देउवा निकट नेताहरूले बताएका छन् ।

तर, गठबन्धनका सहयात्री नेताहरू प्रचण्ड र माधव नेपालले आफ्नो क्षेत्र छनोट गर्न अझै सकेका छैनन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले अहिलेसम्म आफू कहाँबाट निर्वाचन लड्ने भन्ने बारेमा केही खुलाउनुभएको छैन । चितवनको अवस्था बुझ्ने क्रममा आफ्नो निर्वाचन क्षेत्र जाने आउने गरिरहेका उहाँ चितवन ३ बाटै निर्वाचनमा जान्छु भन्न सकिरहनुभएको छैन । दुईवटा स्थानीय तहको निर्वाचनमा छोरी रेणु दाहाललाई जिताउन कांग्रेसको सहारा लिएका प्रचण्डलाई यसपटक चितवन कांग्रेसले संघीय संसद्को निर्वाचनमा चितवन ३ छाडिदिन आग्रह गरेको छ । तर, प्रचण्डले यसबारेमा मुख खोलिसक्नुभएको छैन । गठबन्धनको बैठकमा शीर्ष नेताहरूलाई चुनाव जिताउने गरी रणनीति अघि सारेपछि प्रचण्डले चितवनबाटै निर्वाचन लड्ने मनस्थिति बनाए पनि उहाँले अहिलेसम्म पार्टी कमिटीमा केही बताउनुभएको छैन ।

कांग्रेस नेताहरूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्वाचन क्षेत्र परिवर्तन गर्न सुझाव दिइसकेका छन् । चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिनेश कोइराला, जिल्ला सभापति राजेश्वर खनाललगायतका नेताले यो निर्वाचनमा प्रचण्डले चितवन–३ कांग्रेसलाई छाडिदिनुपर्ने सुझाव दिएका कारण उहाँ अलमलमा पर्नुभएको हो । कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले प्रचण्डले चितवन–३ बाटै उम्मेदवारी दिन्छु भनेर ढिपी गर्न नहुने बताउनुभयो । ‘उहाँले चितवन–३ बाहेक अरुतिर उठ्दिनँ भन्नु हुँदैन’, कोइरालाले भन्नुभयो– ‘ठूलो नेताले अरु ठाउँबाट पनि जित्न सक्नुहुन्छ । यसपटक चितवन–३ उहाँले छोडिदिनुपर्दछ ।’ चितवन–३ कोइरालाको गृह क्षेत्र हो र उहाँ पनि यहाँबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा आकांक्षी हुनुहुन्छ । यसै क्षेत्रबाट अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ पनि उम्मेदवारको आकांक्षी हुनुहुन्छ ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार बनेका प्रचण्ड चितवन–३ बाट निर्वाचित हुनुभएको थियो । चितवन–३ मा भरतपुर महानगरका १९ वडा र माडी नगरपालिका पर्छ । भरतपुरका १९ वडामध्ये कांग्रेसले ११, एमालेले ४, माओवादी २, एकीकृत समाजवादी र स्वतन्त्रले १–१ वडाको वडाध्यक्ष जितेका छन् । चितवन–३ मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा एमाले पहिलो दल हो । उसकोे २९ हजार ७ सय ७१, कांग्रेसले २९ हजार ३ सय ४३, माओवादीले १० हजार ९ सय ४०, राप्रपाले ६ हजार १ सय ९८ र एकीकृत समाजवादीले ५ हजार ३७ मत पाएको थियो ।

गत निर्वाचनमा प्रचण्डले ४८ हजार २ सय ७६ मत ल्याई विजयी हुनुभएको थियो । कांग्रेसको समर्थनमा उम्मेदवार बनेका विक्रम पाण्डे ३८ हजार ९ सय ३५ मत ल्याउनुभएको थियो । भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्डकी छोरी रेणु दाहाललाई गत स्थानीय चुनावमा भएको अनुकूल अवस्था प्रचण्डलाई सहज नभएको गठबन्धनका स्थानीय नेताहरूले बताएका छन् । २०६४ सालको संविधान सभादेखि अहिलेसम्म निर्वाचन क्षेत्र फेर्दै आएका प्रचण्ड चितवन छाडेर रोल्पा, रूकुम वा सिरहा जान सक्ने सम्भावना पनि कायमै देखिन्छ । २०६४ सालमा काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भएका प्रचण्ड २०७० मा काठमाडौंमा पराजित हुँदा सिराहाबाट विजयी हुनुभएको थियो । २०७४ सालमा उहाँ चितवन ३ बाट निर्वाचित हुनुभएको थियो ।

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि आफ्नो चुनावी क्षेत्रको टुंगो लगाइसक्नुभएको छैन । उहाँ नेकपा एमालेका नेता हुँदा काठमाडौं क्षेत्र नम्बर २ र रौतहट २ बाट चुनाव जित्दै आउनुभएको थियो । पार्टी फुटाएर एकीकृत समाजवादी गठनपछि जनसमर्थनमा गिरावट आएकाले उहाँ काठमाडौं २ रोज्ने वा रौतहट नै जाने भन्ने दोधारमा रहनुभएको छ । समाजवादीका नेताहरूले अध्यक्ष नेपाललाई रौतहट नै जाँदा सुरक्षित हुने सल्लाह दिएको नेकपा एसका एक नेताले बताए । रौतहट क्षेत्र नम्बर २ जाने वा काठमाडौं क्षेत्र नम्बर २ बाट लड्ने भन्ने नेपालको अझै टुंगो लागिसकेको छैन ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पार्टीले जुन क्षेत्रबाट चुनावमा उम्मेदवार बनाउँछ त्यसैमा जाने बताउनुहुन्छ । आफ्नो प्राथमिकता कहीँ नभएको भन्दै उहाँले भन्नुभयो– ‘पार्टीको च्वाइस नै मेरो च्वाइस हो, मलाई काठमाडौंबाट दिए पनि, बाराबाट दिए पनि अथवा अन्य जुनसुकै क्षेत्रबाट दिए अब पनि पार्टीको निर्णयअनुसार चुनाव लड्छु ।’ तर, उहाँलाई बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस गरिएको जसपा बाराले जनाएको छ । यसअघि २०७४ को चुनावमा उहाँ सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । समानुपातिकमा साथीहरूलाई मौका दिने भन्दै उहाँले आफू प्रत्यक्षमै चुनाव लड्ने नेपाल समाचारपत्रलाई बताउनुभयो ।

कांग्रेसमा आकांक्षीको धमाधम आवेदन

नेपाली कांग्रेसले मङ्सिर ४ मा हुने निर्वाचनमा उम्मेदवारी सिफारिसका लागि उम्मेदवार हुन चाहने आकांक्षीहरूले भदौ १६ सम्म आवेदन गर्नुपर्ने व्यवस्था ल्याएको छ । सम्बन्धित क्षेत्र तथा जिल्लाले भदौ १८ मा प्रदेशमा पठाइसक्ने र २० गतेभित्र प्रदेश समितिले केन्द्रमा सिफारिस गरिसक्नुपर्ने परिपत्र पार्टीले गरेको हो ।

यसका लागि जिल्ला र क्षेत्र स्तरमा नामावली संकलनका काम धमाधम भइरहेको नेपाली कांग्रेसले जनाएको छ । उम्मेदवारका आकांक्षी धमाधम निवेदन दिइरहेका छन् । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट निवेदन दिनुभएको छ । सो क्षेत्रबाट शंकर भण्डारीले पनि चुनाव लड्न आवेदन दिनुभएको छ ।

त्यस्तै, महामन्त्री गगनकुमार थापाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फको उम्मेदवार बन्न आवेदन दर्ता गराउनुभएको छ । यसअघि उहाँ सोही निर्वाचन क्षेत्रबाटै प्रत्यक्षमा निर्वाचित हुनुभएको थियो । बुधबार उम्मेदवारीका लागि आवेदन दर्ता गराएका थापालाई कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न अनुरोध गरेका छन् । कास्की कांग्रेसका सचिव भानुभक्त ढकालले महामन्त्री थापालाई कास्की १ मा उम्मेदवार सिफारिस गर्न आवेदन दिनुभएको छ । कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले थापालाई कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न आग्रह गर्दै आवेदन दर्ता गराएका हुन् ।

त्यस्तै, कांग्रेसका महामन्त्री महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको छ । काठमाडौं ५ कि झापा १ भन्ने चर्चा भइरहेका बेला शर्माले आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको बताउनुभयो । ‘यो तेस्रोपटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु, मेरा लागि झापा क्षेत्र नम्बर १ प्यारो छ’ –उहाँले भन्नुभयो । संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धनमा सिट बाँडफाँट हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड बन्यो भने पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुंग्याउने सहमति भएको बताउनुभयो ।

उहाँ २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का सुरेन्द्रकुमार कार्कीसँग पराजित हुनुभएको थियो । यसपटक कांग्रेस महामन्त्री शर्मा र सुरेन्द्र कार्की (राम) को व्यवस्थनापन गर्नुपर्ने गठबन्धनलाई चुनौती छ । यता काठमाठौं क्षेत्र नम्बर ६ मा कांग्रेसका जिल्ला सभापति सबुज बाँनियाले आकांक्षा व्यक्त गर्नुभएको छ । उहाँ सभापति भएपछि सबै नेताहरूसँगको सहकार्यमा पार्टीलाई सदृढ बनाउन लागिपरेको दाबी गर्दै आउनुभएको छ ।काठमाडौं ६ मा लोकप्रिय छवि बनाएका बानियाँले मंसिर ४ मा हुने संघीय निर्वाचनमा बलियो दाबेदारी प्रस्तुत गरेको बताउनुभयो । २०५४ मा गाविस अध्यक्ष भएर जनप्रतिनिधिको अनुभव सम्हालिसकेका बानियाँ दोस्रोपटक कांग्रेसको जिल्ला सभापति हुनुभएको हो ।

प्रकाशमान सिंह सभापति हुँदा उहाँ जिल्ला सदस्य भएर काम गर्नुभएको थियो । २०७४ मा सांसदको दाबी गरेका उहाँलाई भीमसेनदास प्रधानले अर्कोपटक दिने सहमतिमा टिकट छाड्न लगाएको नेताहरूले बताएका छन् । नेता प्रकाशमान सिंह र पार्टीका महामन्त्री गगनकुमार थापासँग समेत राम्रो सम्बन्ध बनाएका बानियाँलाई पार्टी सभापति शेरबहादुर देउवाले समेत विश्वास गर्नुहुन्छ । यसपटकको टिकटमा आफ्नो बलियो दावेदारी रहेको सभापति बानियाँले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्न आवेदन हाल्नुभएको छ । यसअघि उहाँ यही क्षेत्रको प्रदेश (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचन लडेर ५ मतले पराजित हुनुभएको थियो । प्रतिनिधि सभातर्फ २०७४ मा यो क्षेत्रबाट कांग्रेसका शंकर भण्डारी चुनाव लड्नुभएको थियो । पौडेलसँगै तनहुँ २ मा केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले पनि उम्मेदवार बन्ने आकांक्षा प्रस्तुत गर्नुभएको छ । पार्टी सभापति शेरबहादुर देउवानिकट वाग्ले यसअघि प्रदेशसभा (ख) मा पराजित हुनुभएको थियो । तनहुँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेल चुनाव लड्दै आउनुभएको छ । एकीकृत समाजवादीका किसन श्रेष्ठ यही क्षेत्रमा रहेकाले यसपल्ट भागबन्डा कसलाई कहाँ पर्छ भन्ने टुंगो लागिसकेको छैन ।