श्रम बजार तथ्यांक सार्वजनिक, दक्ष जनशक्तिको पलायन रोक्न सरकार गम्भिर हुनु पर्नेमा जोड

0
Shares

बुटवल । उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्षकामदारको माग र अवस्था सम्बन्धी श्रम बजार तथ्यांकसहित तयार पारिएको सर्वेक्षण प्रतिवेदन बुधवार रुपन्देहीमा सार्वजनिक गरिएको छ ।

नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, तथा होटल संघ नेपालको साझेदारीमा सञ्चालित श्रम वजार सूचना परियोजनाले श्रम बजार सूचनाको व्यवस्थितएवं एकीकृत ढंगले पहिचानगर्ने योजना सहिततयार पारिएको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

लुम्विनी प्रदेश उद्योग परिसंघ र रुपन्देही उद्योग संघको संयुक्त स्थानीय व्यवस्थापनमा भएको कार्यक्रममा नेपालमा रहेको श्रम शक्तिको अभाव र दक्षजनशक्तिको पलायन रोक्नका लागि आवश्यक रणनीतिमा राज्यले ध्यानदिनु पर्ने कुरामा जोड दिइएको थियो ।

निजी क्षेत्रको मागअनुुसारको सिपयुुक्त जनशक्तिको उत्पादन एवं आपुुर्तिका लागि आवश्यक नीतिगत सुुधार एवं व्यवस्थातर्फ ध्यानदिन सकेमा आर्थिक समृद्धिका साथै औद्योगिक विकासमा नयाँ ढंगको परिवर्तन आउने विश्वाससहित निजी क्षेत्रका छाता संगठनहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले विश्व बजारसँगको प्रतिस्पर्धा र गुणस्तरिय उत्पादनका लागि आवश्यक दक्षजनशक्तिको अभाव झेल्दै आएका नेपाली उद्योगी व्यवसायीहरुले आफैले थालकोे श्रम सूचना परियोजनाले राज्यलाई नीतिगत सुधार गर्न आधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विभिन्न कमजोरीका कारण आश्रित, आयातित र परनिर्भरबाट माथि उठ्न नसकेको हाम्रो अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउनका लागि सबैमा परिवर्तनको विजारोपण हुनुपर्ने कुरामा जोड दिनुभयो ।

अर्थमन्त्री खड्काले अधुरो र अपुरो शीप रहेको जनशक्तिले आफ्नो जीवन जोखिममा मात्र नपारेर आर्थिक उत्पादनमा पनि असर पारेको प्रतिचासो व्यक्त गर्दै दक्षजनशक्तिको अभावलाई हटाएर रोजगारी सिर्जना गर्ने काममा प्रदेश सरकार गम्भिर बनेको बताउनुभयो ।

उहाँले परम्परागत शिप र शैलीको हाम्रो जनशक्तिलाई बर्तमान आवश्यकताअनुसार दक्ष बनाउनका लागि कुन प्रकारको तालिम र शिप चाहिने हो त्यो रोजगारदाताहरुले माग गर्न आग्रह गर्नु भयो ।