अवस्था ठीक नभएका सवारी साधन चलाउने २६ जना चालक कारबाहीमा

0
Shares

काठमाडौं । अवस्था ठीक नभएका सवारी साधन चलाउने २६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (बुधबार) तालिम प्राप्त ट्राफिक प्रहरीलेद्वारा त्रिवि गेटमा चेकजाँचको क्रममा उनीहरुलाई प्रहरीले कारबाही गरेको हो ।

चेकजाँचकै क्रममा हेण्डब्रेक निकालेका टाटा सुमोका ३ जना, चालक र च्यासिस बाङ्गो बनाएको एउटा टाटा सुमोको १ जना चालक, हेट लाइट ठीक नभएको एउटा र अवस्था ठीक नभएका ५ वटा टाटा सुमोका चालकलाई कारबाही गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै बाइफर निकालेको र बत्ति ठीक नभएका ८ वटा पानी ट्यांकर, र टाटा डिआई गाडीका ८ जना चालकलाई पनि कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आजबाट अभियानलाई तीव्रता दिइएको हो ।

आगामी दिनमा अभियानले निरन्तरता दिने र अवस्था ठीक नभएको सवारी साधन चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।