आक्रोशित दर्शक अनि गण्डकीको पुनरागमन



पोखरा ।

लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार गण्डकी प्रदेश र एपिएफबीच फाइनल प्रवेशका लागि भिडन्त भइरहेको थियो ।

नव आदर्श सामुदायिक विकास केन्द्रको आयोजनामा भएको लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलोपटक पुरुष भलिबल प्रतियोगिता राखिएको थियो । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलको पहिलो र दोस्रो सेट एपिएफले जितेको थियो । एपिएफ उपाधी नजिक पुगेको थियो भने गण्डकी संघर्ष गरिरहेको थियो । पहिलो सेट २२–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पनि २२–२५ ले गुमाएको थियो । तेस्रो सेटमा गण्डकी निकै दबाबमा थियो । खेल निकै रोमाञ्चक अनि विवादित पनि बनिरहेको थियो ।

दुबै टिमका खेलाडी बारम्बार रेफ्रीको निर्णप्रति असन्तुष्टि भइरहेका थिए । निकै रोमाञ्चक बनेको खेल २०–२० को बराबरीमा अघि बढ्सँगै खेलाडीको असन्तुष्टि पनि बढेको थियो । जब खेलमा एपिएफले अग्रता लिँदै २३–२२ को स्थिति बनायो तब दर्शकले भलिबल कोर्टभरि पानीका बोतल बजार्न थाले । रेफ्रीले गण्डकीले पाउनुपर्ने अंक एपीएफलाई दिएको भन्दै असन्तुष्टि जनाउँदै पानीका बोतल प्रहार गर्न सुरु गरेका थिए । निकै विवादित बनेको तेस्रो सेटले खेल नै मोडिदियो । आधा घण्टा बढी रोकिएको खेल पुनः सुचारु भएसँगै गण्डकीले लगातार ३ अंक बटुल्दै खेल २५–२३ ले जित्यो ।

त्यसपछि भने गण्डकीले लय समात्यो । हार्नै लागिसकेको तेस्रो सेट मात्रै नभई लगातार तिन सेटमा जित हात पार्दै गण्डकी फाइनल प्रवेश गरेको छ । एपीएफमाथि ३–२ सेटको जित निकाल्दै गण्डकी फाइनलमा प्रवेश गरेको हो । गण्डकीले सुरुवाती दुई सेट गुमाए पनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेटमा एकपक्षीय प्रदर्शन गरेको गण्डकीले २५–१६ ले जित्दै खेललाई पाँचौं सेटमा लम्ब्याउँदै फाइनल पुग्ने आशा जीवितै राखेको थियो । निर्णायक तथा पाँचौ सेट प्रतिस्पर्धात्मक बन्दा गण्डकीले १७–१५ ले हराउँदै उपाधि सामु पुगेको हो ।

त्रिभुवन आर्मी र नेपाल पुलिसबीचको दोस्रो सेमिफाइनल खेल भने वर्षात्का कारण रोकिएको छ । पहिलो सेट चलिरहेको अवस्थामा अचानक पानी परेपछि खेल रोकिएको हो । उक्त खेल बुधबार (आज) हुने आयोजकले जानकारी दिएको छ ।
महिलातर्फ न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । मंगलबार नै सम्पन्न सेमिफाइनल खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै उपाधी नजिक पुगेको हो । पुलिसले २७–२५,२५–११ र २६–२४ ले हराएको हो । यस्तै डायमन्डले गण्डकीलाई सोझै सेटमा हरायो । डायमन्डले २५–१८, २६–२४ र २५–११ ले हराउँदै फाइनल प्रवेश गरेको हो ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भइरहेको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागिता नजनाएपछि ४ टिम मात्रै भएको हो । महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् ।
पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको छ । दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्