ज्ञानेन्द्रको सानदार ब्याटिङमा नेपाललाई शृंखला



काठमाडौं । 

ज्ञानेन्द्र मल्लको सानदार ब्याटिङको सहयोगमा नेपालले केन्याविरुद्धको ५ खेलको टी २० शृंखला ३–२ ले हात पारेको छ ।
मंगलबार भएको निर्णायक खेलमा नेपालले घरेलु टोली केन्यालाई ३१ रनले हराएसँगै नेपालले शृंखला हासिल ग¥यो । नेपालले १ सय ७६ रनको ठूलो लक्ष्य दिएको थियो ।

यति ठूलो लक्ष्य दिनको लागि ज्ञानेन्द्रले अर्र्धशतकीय इनिङ खेलेका थिए । उनले ४४ बलको सामना गर्दैै ५९ रन जोडेका थिए । उनको सुन्दर ब्याटिङमा ५ चौका र २ छक्का पनि सामेल थिए । यो उनको तीन वर्षपछिको तथा टी २० करियरको दोस्रो अर्धशतक पनि थियो । यस्तै, नेपालको ब्याटिङमा रोहित पौडेलले पनि अहम भुमिका खेले । उनी ३ रनले अर्धशतक प्रहार गर्न चुकेका थिए । विस्फोटक ब्याटिङ गर्ने क्रममा उनले २५ बलमा ७ चौका प्रहार गरेका थिए । अन्यमा ज्ञानेन्द्रसँगै ओपनिङमा आएका अर्जुन साउदले २९ रनको योगदान दिए ।

पहिलो विकेटका लागि अर्जुन र ज्ञानेन्द्रले ८ ओभरमा ६५ रनको साझेदारी गरेका थिए । नियमित ओपनर पवन सरार्फको स्थानमा नेपालले ज्ञानेन्द्रलाई ओपनिङ गराएको थियो । यसैगरी, तेस्रो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरी १७ बलमा ३ चौकासहित २२ रन बनाएर आउट भए । पवन १ रन, विवेक यादव २ र आदिल अन्सारी ४ रनमा आउट भए । केन्याका स्पिनर विराज पटेल, कप्तान शेम नगोचे र नेहेमिया ओडीयाम्बोले दुई–दुई विकेट लिए ।

जवाफमा उत्रेको केन्याको टोलीले ७ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाएको थियो । केन्याका लागि नेहेमिया ओडियाम्बोले सर्वाधिक ३७ रन जोडेका थिए । यस्तै शेम नगोचेले १८ बलमै ३३ रन जोडे पनि नेपालको लागि कुनै खतरा भएन । नेपालको तर्फबाट बसिर अहमद र सन्दीप लामिछानेले सर्वाधिक २÷२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्