सवारी दुर्घटनामा चार जनाको मृत्यु

0
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

हिजो (सोमबार) सल्यान, शारदा नगरपालिका(१० नयाँगाउँमा रा १ ह २२१९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खस्दा अटोमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा कालिमाटी गाउँपालिका(१ बस्ने ७० वर्षीया कमला पुन र ३० वर्षीया धनी पुन रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका ५ जनामध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ३ जनालाई थप उपचारका लागि मेडिकल कलेज नेपालगञ्जमा पठाइएको छ ।

त्यस्तै तनहुँ, शुक्लागण्डकी नगरपालिका(८ लालिमस्थित सडकमा ग १० प ६४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका(१० बस्ने २५ वर्षीय चेतमानसिंह आलेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपि कोईराला राष्ट्रिय श्वास(प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१८ कठाएत चोकमा ना ५ च २९९ नम्बरको गाडीले बा ४४ प ३८०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका(१ बस्ने ३१ वर्षीय धर्मेन्द्र राम थारुको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।