सुदूरपश्चिम क्रिकेट छनोट मंगलबारदेखि



बैतडी । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको खेलतालिका सार्वजनिक भएको छ । सार्वजनिक खेलतालिकाअनुसार छनोट प्रतियोगिता मंगलबारदेखि धनगढीस्थित फाप्ला खेलमैदान शुरु हुने भएको हो ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार पहिलो खेलमा कैलाली र दार्चुला भिड्दा दोस्रोमा बझाङ र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन् । भदौ १५ गते कञ्चनपुर र अछामबीच भिडन्त हुँदा दोस्रोमा बैतडी र डोटी आमनेसामने हुने भएका छन् ।

भदौ १६ गते पहिलो खेलमा कैलाली र दार्चुलाबीचको विजेता र बझाङ र डडेल्धुराबीचको विजेता टोलीबीच भिडन्त हुनेछन् । दोस्रो खेलमा बैतडी र डोटीबीचको विजेता टोलीले बाजुरासँग प्रतिस्प्रर्धा गर्नेछ ।भदौ १७ गते कञ्चनपुर र अछामबीचको विजेता टोली र १६ गते भएको खेलको विजेता टोलीबीच भिडन्त हुनेछ ।

नकआउट चरणमा गरिने छनोटको फाइनल खेल भदौ १८ गते हुने जनाइएको छ । प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन खेलाडीबाट सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त क्रिकेट टोली नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनेछ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोजमा हुने तय भएको भए पनि पुरुष क्रिकेट भने यही भदौ २२ गतेदेखि काठमाडौं गर्ने निर्णय भएको छ ।

नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल टि ट्वान्टी लिग र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि क्रिकेटको नयाँ मिति तय गरेको हो । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटबाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्