कांग्रेस केन्द्रीय स्तरका नेतालाई सांसद बन्न सकस

0
Shares

काठमाडौं । 

नेपाली कांग्रेसको केन्द्रीय समितिमा रहेका र मन्त्री भइसकेका नेताहरूलाई नै आगामी निर्वाचनबाट संसद्मा छिर्न सकस देखिएको छ । अघिल्लो निर्वाचनमा समानुपातिबाट संसद्मा छिरेका नेताहरू यस निर्वाचनमा समानुपातिकको बन्दसूचीमा नपर्ने र प्रत्यक्षमा समेत टिकट पाउन मुस्किल पर्ने देखिएको हो ।

पार्टीले २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेका नेताहरूलाई पुनः समानुपातिकमा नदोहो¥याउने नीति लिएपछि पार्टीका सिनियर नेताहरू नै समानुपातिक सूचीमा नपर्ने निश्चित भएको छ ।
सत्ता गठबन्धनमा रहेका पार्टीहरूबीच तालमेल गरेर जाने निर्णयसँगै समानुपातिक सूचीमा नपर्ने ठूला नेताहरू प्रत्यक्षमा समेत टिकट पाउने नपाउने निश्चित छैन ।

समानुपातिकबाट २०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवारमा सिफारिस नगर्ने पार्टीले नीति बनाएपछि पार्टीका ठूला नेताहरूलाई नै सकस देखिएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । ‘टिकट पाए पनि कतिपय ठाउँमा जित्ने अवस्था देखिँदैन’, उनले भने– ‘त्योभन्दा अघि गठबन्धनले गर्दा टिकट पाउनै धेरैलाई मुस्किल पर्ने देखिन्छ ।’

समानुपातिकबाट प्रतिनिधिसभा सांसद र प्रदेशसभा सदस्य बनेकाहरूलाई पुनः समानुपातिकमा नदोहो¥याउने नीति पार्टीले लिएको महामन्त्री गगनकुमार थापाले बताउनुभयो । समानुपातिकबाट २०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवारमा सिफारिस नगर्न पार्टीका तल्ला निकायलाई परिपत्र गरिसकेको थापाले जानकारी दिनुभयो । ‘२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारका लागि सिफारिस नगर्ने’ परिपत्रमा भनिएको छ ।

कांग्रेसको विधानमा एकपटक समानुपातिकबाट निर्वाचित भएको व्यक्ति लगत्तैको निर्वाचनमा समानुपातिकबाट पुनः उम्मेदवार हुन नपाउने व्यवस्था रहेको छ । पार्टी विधानको धारा ३३ (२) मा भनिएको छ– ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’

पार्टीले यस्तो नीति लिएपछि समानुपातिकमा बस्न नपाउने सिनियर नेताहरूले प्रत्यक्ष निर्वाचन प्रणालीमा भाग लिनका लागि टिकटको दौड शुरू गरेका छन् । पार्टी केन्द्रले वर्तमान सत्ता गठबन्धनलाई कायम राखी आगामी निर्वाचनमा सिट बाँडफाँट गरेर जाने निर्णय गरेसँगै पुराना पुस्ताका धेरै नेताहरू समस्यामा परेका छन् । गठबन्धन गर्दा कांग्रेसका सिनियर नेताहरू र सहजै चुनाव जित्ने क्षेत्रहरू माओवादी समाजवादीलगायत गठबन्धनमा सामेल दलहरूलाई छाड्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने देखिन्छ ।
२०७४ मा नेपाली कांग्रेसले केन्द्रीय स्तरका दर्जनभन्दा बढी नेतालाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको थियो ।

तीमध्ये धेरैजसो सांसद भएर कतिपय मन्त्री भइसकेका छन् भने केही बहालवाला मन्त्री छन् । उनीहरू यसपटक समानुपातिक सांसद हुनबाट वञ्चित भएका छन् । अघिल्लो निर्वाचनमा समानुतिक सूचीमा पर्ने प्रमुख नेताहरूमा पार्टी तत्कालीन कोषाध्यक्ष सीतादेवी यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, नेता बालकृष्ण खाँण, नेत्रृ सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, पार्वती डिसी चौधरी, किशोरसिंह राठौर, पुष्पा भुसाल, मानबहादुर विक, मीन विक, बहादुर सिंह लामा रहेका थिए ।

त्यस्तै, खिमप्रसाद भुसाल, शिला खड्का, उमा रेग्मी, मञ्जु खाँण, मीना पाण्डे, जिपछिरिङ लामा, पद्मनारायण चौधरी, विनोद चौधरी, उमेश श्रेष्ठ, दिव्यमणि राजभण्डारी, अनिलकुमार रुगंटालगायत १ सय १० जना समानुपातिक सूचीमा रहेका थिए । तीमध्ये विभिन्न क्लस्टरबाट ४० जना समानुपातिक प्रणालीबाट सांसद बनेका थिए ।

पार्टीको यो नीतिअनुसार समानुपातितर्फका सांसदहरू वर्तमान गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, मन्त्री उमा रेग्मी, दिलेन्द्र प्रसाद बडू, विनोद चौधरी, सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, दीपशिखा शर्मा प्रमिला राई, लक्ष्मी परियार, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली, बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, किशोरसिंह राठौर, सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झालगायत धेरै नेताहरूलाई समानुपातिकको बाटो बन्द भएको हो । यस बाटोबाट संसद्मा जान नपाउने भएपछि उनीहरू प्रत्यक्ष टिकटको दाबी गर्ने बताउँछन् । तर गठबन्धनका कारण कतिपय नेताहरू ब्याक हुनुपर्ने अवस्था आउन सक्ने नेपाली कांग्रेसले जनाएको छ ।

भदौ २० भित्रै सिफारिस गर्न परिपत्र

कांग्रेसले भदौ २० भित्र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने समयसीमा तोकेको छ । मातहतका कार्यसमितिलाई भदौ २० भित्रै पठाइसक्न परिपत्र गरेको पार्टीले जनाएको छ ।
अहिले उम्मेदवारमा सिफारिस भए पनि गठबन्धन हुँदा अरू दलको भागमा परेका स्थानमा पार्टीको उम्मेदवारी कायम नहुने समेत जानकारी परिपत्रमार्फत कांग्रेसले आकांक्षीहरूलाई गराइसकिएको छ । उम्मेदवार सिफारिस गर्दा कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्यसमितिमा सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

सिफारिस गर्ने बैठकमा सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था छ । तर एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा भदौ १८ गतेसम्म समय तोकिएको छ । एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा पनि पनि भदौ १८ भित्र उम्मेदवारको नाम कार्यसमितिमा पठाउन भनिएको छ । प्रदेश कार्यसमितिले भदौ २० गतेभित्र आफ्नो रायसमेत समावेश गरी केन्द्रमा पठाउनुपर्ने परिपत्रमा उल्लेख छ ।
बक्स

वरिष्ठ नेता पौडेलद्वारा तनहुँ क्षेत्र नं. १ बाट आवेदन दर्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न पार्टीभित्र आवेदन दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसले आकांक्षी उम्मेदवारका लागि आवेदन खुला गरिएकामा वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि आवेदन दर्ता गराउनुभएको हो ।

वरिष्ठ नेता पौडेलले भतिज उद्धव पौडेलमार्फत् नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालयमा आवेदन दर्ता गराउनुभएको क्षेत्रीय सचिव दयानिधि नरालले जानकारी दिनुभयो । सुशासन, पारदर्शिता र गाउँको विकासलाई प्राथमिकता दिन आफू उम्मेदवार बन्न इच्छुक रहेको उहाँले बताउनुभयो ।

निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षासहित जिल्लामा चहलपहलसमेत बढाउँदै आउनुभएको छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनका संयोजकसमेत रहेका पौडेल २०७४ सालको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट पराजित हुनुभएको थियो ।

केही समयअगाडि गृहजिल्ला आउँदा पौडेलले आफू क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने समेत बताउनुभएको थियो । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका लागि सोमबारसम्म केन्द्रीय सदस्य गोविन्द भट्टराई र संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, केन्द्रय सदस्य शंकर भण्डारीले आवेदन दर्ता गराउनुभएको नरालले बताउनुभयो । उहाँका अनुसार समानुपातिकतर्फ यमुना खड्का विक (दलित) र मिरा जोशीले खुला महिलामा उम्मेदवारी दर्ता गराउनुभएको छ ।