बोरुसिया डर्टमन्डको जित

0
Shares

लन्डन, (एजेन्सी)  ।

बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा जितको नतिजा आत्मसात गरेको छ । डर्टमन्डले घरेलु टोली हर्था बर्लिनमाथि १–० गोलअन्तरको झिनो जित निकालेको हो । डर्टमन्डको जितमा पहिलो हाफमा एन्थोनी मोडेस्टेले गरेको गोल नै निर्णायक साबित बन्यो ।

उनले ३२औं मिनेटमा सली ओजानको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोलमा डर्टमन्डले बुन्डेसलिगामा तेस्रो जित निकाल्न सफल भयो । यो जितसँगै डर्टमसन्ड चार खेलबाट ७ अंक जोडेको छ ।

अर्को खेलमा बायर्न म्युनिख बराबरीमा रोकिएपछि अंक बाँड्न बाध्य बन्यो । स्विस गोलरक्षक यान सोमेरको जर्मन बुन्डेसलिगाको इतिहासमै कीर्तिमानी १९ बचाउ गरेपछि बलियो बायर्न बराबरीमा रोकिन बाध्य बनेको हो । बायर्न घरेलु मैदानमा बोरुसिया बोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरीमा रोकिएको हो । लगातार आक्रमण बुनिरहेको बायर्नका लागि अन्तत लिरोए सानेले गोल गर्दै टोलीलाई हारबाट जोगाउन सफल भए ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा साडियो मानेको दुई गोलले अफसाइडका कारण मान्यता नपाउँदा टोली थप दबाबमा परेको थियो । ३४औं मिनेटमा मानेको गोलले भीएआरबाट बान्यता पाएन । ४३औं मिनेटमा मार्कस थुरामले क्रिस्टोफ क्रामरको पासमा मैदानको मध्यभागबाट एकल प्रयासमा गोल गर्दै मोन्चेनग्लाडवाकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ८३औं मिनेटमा जमाल मुसियलाको पासमा सानेले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए । खेलको इन्ज्युरी समयमा बेन्जामिन पाभार्डको प्रयासलाई विफल पारेका गोलरक्षक सोमेरले खेलमा १९औं बचाउ गर्दै बुन्डेसलिगामा नयाँ कीर्तिमान बनाउन सफल भए ।

बराबरीसँगै अपराजित रहेको बायर्न ४ खेलबाट १० अंक जोडेको छ । अर्कोतिर समान खेलबाट मोन्चेनग्लाडवाकले ८ अंक जोडेको छ । त्यस्तै, अन्य खेलमा बायर लिभरकुसेनले मेइन्जÞलाई ३–० ले हराउँदा आरबी लाइप्जिगले वल्फ्सवर्गलाई २–० ले पराजित तीन अंक बटुल्यो ।