मिलानले जित्दा युभेन्ट्स रोकियो


लन्डन, (एजेन्सी)

इटालियन सिरी ‘ए’ मा साविक विजेता एसी मिलानले जित निकाल्दा अर्को बलियो टोली युभेन्ट्स बराबरीमा रोकिएको छ ।
मिलानले घरेलु मैदानमा बोलोग्नालाई २–० गोलअन्तरले पराजित गरेको हो । मिलानको जितमा राफयल लियो र ओलिभर जिरुडले गोल गरे ।

मिलानोमा शनिबार राति भएको खेलको २१औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता लिँदा ५८औं मिनेटमा लियोकै पासमा ओलिभर जिरुडले गोल गर्दै मिलानको जित सुनिश्चित गरे । यस जितसँगै मिलानले तीन खेलबाट ७ अंक जोडेको छ ।

त्यस्तै, सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिएको हो । युभेन्ट्सले रोमासँग १–१ गोलको बराबरी खेल्दै एक–एक अंक बाँडेको छ ।

युभेन्ट्सका डुसान भ्लाहोभिकले खेलको दोस्रो मिनेटमा फ्रिकिकमार्फत सीधै गोल गरेका थिए । अर्कोतिर रोमाका ट्याम्मी अब्राहमले ६९औ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसअघि, २५औं मिनेटमा युभेन्ट्सका म्यानुयल लोकाटेलीको गोलले मान्यता पाएन । यो बराबरीसँगै युभेन्ट्सले तीन खेलबाट ५ अंक जोड्दा रोमाको सात अंक भएको छ ।