नेपालले लियो २–१ को अग्रता

0
Shares

काठमाडौं । 

नेपालले केन्याविरुद्धको ५ खेलको टी २० आई सिरिजमा २–१ को अग्रता लिएको छ । आइतबार नेपालले केन्याद्वारा दिइएको १ सय ५७ रनको लक्ष्य ३ बल बाँकी राखी ६ विकेटको क्षतिमा भेटाएको हो ।

नेपाललाई जित दिलाउन राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै डेब्यू गरेका अर्जुन साउदले ३५ रन बनाउन सफल भए । अन्यमा रोहित पौडेलले २९ रन, पवन शर्राफले २० रन र मोहमद आदिल आलमले १६ रन बनाएका थिए ।

दीपेन्द्रसिंह ऐरी तेस्रो विकेटको रूपमा ८३ स्कोरमा आउट भएपछि ज्ञानेन्द्र र रोहितले नेपालको ब्याटिङ सम्हालेका थिए । उनीहरूले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेर जिततिर अग्रसर गराएका थिए । रोहित १ सय ३७ स्कोरमा आउट भए भने ज्ञानेन्द्र १ सय ४८ स्कोरमा पभेलियन फर्केका थिए । उनी आउट हुन्जेल नेपालले जित्ने छनक देखाइसकेको थियो ।

यसअघि, घरेलु टोली केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । केन्याका रकिप पटेल ४३ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७३ रनमा अविजित रहे । विकेटकिपर इफरान करिम ४७ बलमा ४ चौका र २ छक्कासहित ५५ रनमा अविजित रहे । तेस्रो विकेटका लागि रकिप र करिमले १ सय २७ रनको सानदार अविजित शतकीय साझेदारी गरेका थिए ।

रकिप पटेलले १८ औं ओभरको अन्तिम बलमा करण केसीलाई छक्का हान्दै यस सिरिजमा अर्धशतक हान्ने पहिलो खेलाडी बने । तीव्र गतिका बलर सोमपाल कामीले पाँचौं ओभरको दोस्रो बलमा सुखदीप सिंहलाई ८ रनमा सन्दीप लामिछानेबाट क्याच गराए । उनले १२ बलमा १ चौका हाने । आदिल अन्सारीले छैटौं ओभरको अन्तिम बलमा कोलिन्स ओबुयालाई १४ रनमा बोल्ड गरे । १८ बल खेल्दै उनले १ चौका र १ छक्का प्रहार गरे । ओबुया आउट हुँदा केन्या २९–२ को अवस्थामा थियो । त्यसपछि नेपालले तेस्रो विकेट लिन सकेन । अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीलाई १९ रन प्रहार गर्दै केन्याले बलियो योगफल बनाएको थियो ।

सन्दीप लामिछानेले ४ ओभरमा ४२ रन खर्चेर विकेट लिन सकेनन् । दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा ३१ रन खर्चिए । सोमपाल कामीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । करण केसीले ३ ओभरमा २० रन खर्चेपनि विकेट लिन सकेनन् । आदिल अन्सारीले १ ओभरमा ४ रन खर्चेर १ विकेट लिए । पवन सरार्फले २ ओभरमा ९ रन खर्चिए ।