भारतमाथिको निलम्बन फुकुवा

0
Shares

नयाँ दिल्ली, (एजेन्सी) । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन –एआईएफएफ) माथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

फिफाले एआइएफएफ माथि लगाएको निलम्बन दुई साता नबित्दै फुकुवा गरेको हो । एआईएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले साउन ३० गते भारतमाथि निलम्बन गरेको थियो । ब्यूरो अफ फुटबल काउन्सिलले एआईआईएफमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको फिफाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दैनिक कार्यसञ्चालनका लागि एआइएफएको पुरानै समितिलाई दिने पक्का गरेसँगै फिफाले निलम्बन फुकुवा गरेको हो । फिफा र एएफसीले दैनिक काम कसरी अघि बढ्छ त्यसलाई अनुगमन गर्ने पनि जनाएको छ । फिफाले यसअघि नै पटक–पटक चेतावनी दिए पनि विधानविपरीत कार्य हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो ।

तर, फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले निलम्बन गरेको हो । निलम्बन फुकुवासँगै भारतले आगामी अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू–१७ महिला विश्वकप पनि अब पूर्वनिर्धारित समयमै हुने फिफाले उल्लेख गरेको छ ।

महिला साफ खेल्न बाटो खुल्यो

फिफाले अल इन्डिया फुटबल फेडेरेसन –एआईएफएफ) माथिको निलम्बन फुकुवा गरेसँगै यसै महिना दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न भारतलाई बाटो खुलेको छ । यो विषयमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले भने आधिकारिक निर्णय गर्न बाँकी रहेको छ । अगस्ट २३ सम्म भारतको अवस्था के हुनु भन्ने विषयमा प्रतीक्षा गर्ने साफले यसअघि निर्णय गरेको थियो ।

तर, हालसम्म निर्णय नगरेपछि अब भने भारतलाई बाटो खुलेको हो । साफ च्याम्पियनसिपको साविक विजेतासमेत रहेको भारतलाई अब उपाधि रक्षाको मौका मिलेको छ । भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपमा दक्षिण एसियाका सबै सातवटै राष्ट्रको सहभागिता रहनेछ ।

भारतसँगै समूह ‘ए’ मा अब बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहनेछन् । च्याम्पियनसिपको छैटौं संस्करणमा आयोजक नेपालको समूहमा भने श्रीलंका र भुटान छन् । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । त्यस आधारमा समूह चरणमा ९ खेल तथा दुई सेमिफाइनल र फाइनल गरि साफमा १३ खेल हुनेछन् । कुमार थापाको मुख्य प्रशिक्षणमा नेपाली टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । पछिल्लोपटक विराटनगरमा आयोजित च्याम्पियनसिपको फाइनलमा भारतले नेपाललाई हराएको थियो ।

नेपाली टोलीको घोषणा 

भदौ २१ देखि दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार २३ सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा पनि गरेको छ । मुख्य प्रशिक्षक कुमार थापाले ३५ बाट अन्तिम २३ खेलाडीको छनोट गरेका हुन् । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए । असोज ३ गतेसम्म हुने यस प्रतियोगितामा नेपालले पहिलो खेल भुटानसँग पहिलो दिन खेल्नेछ । त्यसपछि श्रीलंकासँग दोस्रो खेल भदौ २७ गते खेल्नेछ ।
साफ च्याम्पियनसिप खेल्ने नेपाली महिला टोली

गोलकिपर– एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

रक्षक– हिराकुमारी भुजेल, अमृता जैसी, गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विकेमिडफिल्ड– विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रीति राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्ड– अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ