उनी कसरी पुगिन् घनाजंगलमा

0
Shares

हेटौंडा।

अगाडि जाउँ वा पछाडि, दुवैतिर कम्तिमा १० किलोमिटर घनाजंगल छ । उक्त स्थानमा एक्लै हिड्न सकिदैन ।
उक्त स्थानको दृष्य हेर्दा लाग्छ मान्छे पनि जंगली बनिदिन्छन् कहिलेकाही । भोक, प्यास र भयकाबीच एक बृद्धा । जो आफ्नै बलमा २ मिटर घिस्रेर सर्न पनि नसक्ने अवस्थामा भेटिन्छिन् । यसलाई सामान्यरुपमा लिन सकिदैन । सोही क्षेत्रमा एक मनोरोगी हिडिरहेका भेटिए ।

‘सयौं मान्छे मार्ने अपराधीलाई समेत यस किसिमको दण्ड र पीडा दिन नमिल्ने कानुन भएको देशमा एक ज्येष्ठ नागरिकले यस्तो पराकाष्ठा भोग्नपर्ने बाध्यात्मक अवस्था रहनु कुन हदसम्मको विडम्बना र लाचारीपन हो ?,’ मानवसेवा आश्रम केन्द्रीय कार्यालयले सामाजिकसञ्जालमार्फत् भनेको छ–फोहोर व्यवस्थापन जति प्राथमिकतामा पर्नसक्छ, किन मान्छेको व्यवस्थापन त्यति प्राथमिकता पर्न सक्दैन ? फोहोर हाम्रो घरबाट निस्कन्छ तर उहाँ (बृद्धा) हाम्रो घरका होइनन्, यसकारण हो ? यदि यही कारण हो भने अब कहाँ बाँकी रह्यो मानवता ?

घटनाको अर्को एक अध्यरो पक्ष पनि छ । जंगलको बीचमा घस्रेर पनि हिड्न नसक्ने ती अशक्त बृद्धा कसरी पुगिन् ? आफैं हिड्दा त्यहाँ पुगेपछि भोकप्यास र थकानले ढलिन् वा कसैले लगेर छाडिदिए ? मृत्युको मुखमा पुगेकी ती बृद्धाको बर्दिबासबाट झण्डै १० किलोमिटर पश्चिमतर्फ लक्ष्मीनिया भन्ने रोडकिनारा (जंगल) बाट उद्धार भएको छ । हाल उहाँ मानवसेवा आश्रम जनकपुरको संरक्षणमा रहेको आश्रमको केन्द्रीय कार्यालय हेटौंडाले जनाएको छ । उहाँको परिचय खुलेको छैन । बृद्धासँगै सोही स्थानबाट एक मनोरोगी युवाको उद्धार भएको छ ।