मानिस भएका नाताले तपाईँ शान्तिलाई कसरी परिभाषित गर्नुहुन्छ ! तपाईँ कुन कुरालाई शान्ति यो हो भनेर बुझ्नुहुन्छ ! तपाईँ कुन कुरालाई आफ्नो जीवनमा बढी प्राथमिकता दिनुहुन्छ ! हामी संसारलाई हेरेर आफ्ना आवश्यकता अनि प्राथमिकताहरूको निर्धारण गर्छौँ । त्यसपश्चात् जीवनभरि तिनै आवश्यकता र इच्छाहरूलाई पूरा गर्ने सपना देखिरहन्छौँ ।
तिनै कुरालाई आफ्नो प्राथमिकताको सूचीमा राख्छौँ । तर, हामी के बिर्सन्छौँ भने सृष्टिकर्ताले पहिला नै हाम्रो हृदयमा एउटा तिर्खा, एउटा चाहना राखेका छन् । त्यो तिर्खालाई बुझ्नका लागि संसारतिर होइन केवल आफ्नो हृदयभित्र हेर्नुपर्छ । त्यो तिर्खा हो– वास्तविक सुख अनि वास्तविक शान्तिको । जीवनमा हाम्रो प्राथमिकता शान्ति हो । यो कुरालाई बुझ्नु अत्यन्तै आवश्यक छ । शान्ति कुनै कल्पना गर्ने कुरा होइन । शान्ति त हरेक मानिसले आफूभित्रै महसुस गर्न सक्ने एउटा अनुभव हो । किनकि, शान्ति अन्त होइन, हामीभित्रै छ । वास्तवमा यो त खुशीको खबर हो ।
यसै सन्दर्भमा एउटा कथा छ । एकजना मानिस थिए । उनी चाहन्थे– उनको जीवनमा केही उन्नति होओस् । एकदिन उनले आफ्नो परिवारलाई बोलाए । सबै सदस्यसँग भने– ‘म केही वर्षका लागि विदेश जान लागेको छु । त्यहाँ कुनै काम गर्नेछु, धन कमाउनेछु । जब म फर्केर आउनेछु तब एकदम धेरै धन लिएर आउनेछु । त्यसपछि हामी आनन्दपूर्वक रहनेछौँ ।’ उनी विदेश गए । उनले काम गरे । निकै धन पनि कमाए । धन कमाएपश्चात् उनी घर फर्केर आइरहेका थिए । फर्कने क्रममा उनले एउटा होटलमा बास बस्नुपर्ने भयो । सुत्नेबित्तिकै उनलाई निद्राले छोपिहाल्यो । निदाएपछि उनले एउटा सपना देखे । उनका बालबच्चाहरू अब त ठूला भइसकेका रहेछन् । उनीहरू सबै जना चोरी गरिरहेका रहेछन् । उनलाई यो कुरा पटक्कै मन परेन ।
उनलाई भित्रभित्रै एकदमै रिस उठिरहेको थियो । उनी भोलिपल्ट बिहान उठेपछि आफ्नो घरतिर लागे । जाँदा–जाँदा रात प-यो । त्यस दिन पनि उनी एउटा होटलतिर बास बसे । निद्रा लाग्नासाथ उनले फेरि सपना देखे– उनकी श्रीमतीको व्यवहार, उनको चरित्र राम्रो थिएन । त्यो रातमा त उनलाई झनै रिस उठ्यो । उनी केवल सपना देखिरहेका थिए । तर, सपना र वास्तविकतामा फरक छुट्याउन सकिरहेका थिएनन् । भोलिपल्ट उनी घर जान भनेर हिँडे । घर पुग्नुभन्दा अगाडि उनले सोचे– म यस्तो परिवारसँग भेट्न जाँदै छु जसले मेरो प्रतीक्षा पनि गर्न सकेनन् । यदि यो सबै धन उनीहरूलाई सुम्पेँ भने त उनीहरूले बर्बाद पारिदिन सक्छन् ।
त्यसपछि उनले त्यहीँनिर एउटा खाडल खनेर त्यो पूरै धनलाई गाडिदिए । जब उनी घर पुगेका मात्र के थिए बालबच्चाहरू त खुशी हुँदै ढोग गर्न आइपुगे । तर, उनले छोराछोरी र आफ्नी श्रीमतीलाई तथानाम गाली गरेर घरबाट निकालिदिए । रात परेपछि फेरि उनले सपना देखे– उनका छोराछोरी, उनकी श्रीमती रोइरहेका थिए । अनि, उनीहरूले केही पनि नराम्रो काम गरेकै थिएनन् । यो सबै उनको भ्रममात्रै थियो । उनी सपनाबाट बिउँझिँदा त घरमा कोही पनि थिएनन् । उनलाई योसम्म पनि थाहा भएन– उनीहरू कहाँ गए ।
उनले सोचे– ‘कमसेकम जुन धन खाडलमा गाडिएको थियो त्यसलाई घर ल्याउनुप¥यो ।’ उनी आफ्नो धन खोज्नका लागि गए तर उनलाई त्यो धन कहाँ गाडेको थिएँ भन्ने कुराको पत्तै भएन । उनी स्वयंले पनि खोज्न नसक्ने त्यो धनलाई कस्तो स्थानमा उनले लुकाएर राखेका थिए होलान् ! यो कथा हामी मानिसको हो । किनभने, यो संसारमा हरेक मानिस केही कमाउनका लागि आएको छ । तथापि, ऊ आफ्नो सपनामा नै हराइरहेको हुन्छ । उसले सपनालाई नै सत्य मान्न थाल्छ । हृदयमा लुकेर बसेको जुन वास्तविकता छ, त्यसलाई उसले भुल्छ ।
उसले जति पनि कमाइ गरेको छ त्यसलाई उसले कतै छोडिदिन्छ । कतै राखिदिन्छ । अनि, जब समय आउँछ, जसको प्रतीक्षा थियो, त्यसलाई पनि स्वीकार गर्न सक्दैन । किनभने, जीवनभरि सपना देख्नमा नै बिताइदिन्छ । अब त्यो सपनाबाट बिउँझने समय आएको छ । तपाईँ जीवित हुनुहुन्छ । यो सपना होइन । तपाईँभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ । यो सपना होइन । यो श्वासको क्षमतालाई बुझ्नुहोस् । तपाईँलाई यो जीवन प्राप्त भएको छ । बाँच्ने अवसर प्राप्त भएको छ । जबसम्म जीवन छ, तपाईँ धेरै कुरा गर्न सक्नुहुन्छ ।
केवल यो सम्भावनालाई स्वीकार गर्नुहोस् । यो जीवनलाई स्वीकार गर्नुहोस् ! आफूले आफैंलाई चिन्नुहोस्, पहिचान गर्नुहोस् । आफूभित्र विराजमान त्यो शक्तिलाई चिन्नुहोस्, जसको कृपा हरेक श्वासका साथमा तपाईँभित्र वर्षिरहेको छ । तपाईँले स्वयंलाई चिन्नुभएपछि बाँकी सबै सम्भावनालाई पनि स्वीकार गर्नुहुनेछ । जुन दिन तपाईँ स्वयंलाई बदल्नुहुनेछ, त्यस दिन बाँकी सबै कुरा बदलिनेछन् । तपाईँको जीवन पनि परिवर्तन हुनेछ ! यदि तपाईँ आफ्नो जीवनमा शान्तिलाई अपनाउनुहुन्छ भने यो जीवन हराभरा हुनेछ । मात्र यो सम्भावनालाई स्वीकार गर्नु छ– ‘मलाई यो जीवन प्राप्त भएको छ । म जीवनमा सदा रहिरहने त्यो आनन्द, त्यो सुखलाई प्राप्त गर्न चाहन्छु ।’
यो जीवन शान्तिको रंगमा रङ्गिनका लागि प्राप्त भएको हो । यो जीवन मनलाई रङ्गाउनका लागि प्राप्त भएको हो । आफ्नो जीवनलाई शान्तिको रंगले रङ्गाएर तपाईँ सुख र चैनका साथ यो जीवन बिताउन सक्नुहुन्छ । सुखी हुनुको परिभाषा के हो ! हामीमा रहेको कुनचाहिँ चीज सुखी हुन सक्छ ! के मानिसको मन सुखी हुन सक्छ ? किनभने, सबैजना आफ्नो मनलाई खुशी तुल्याउने कोसिस गरिरहेका छन् । तथापि, कुरा के हो भने मानिसको मनलाई खुशी पार्न सकिँदैन । मानिसका कामनाहरू बदलिरहन्छन् । कहिले के चाहना हुन्छ, कहिले के इच्छा हुन्छ ! मानिस घरमा हुँदा उसलाई अफिस जाने चिन्ता हुन्छ अनि जब ऊ अफिसमा हुन्छ तब उसलाई घर आउने चिन्ता हुन्छ । ऊ आफ्नो मनलाई खुशी तुल्याउने कोसिस गरिरहन्छ ।
वास्तवमा मनले त केवल कल्पना गरिरहन्छ । मनले कल्पना ग¥यो, ‘कति राम्रो हुन्थ्यो होला यदि कुनै यस्तो चीज भएको भए– जस्तो टेलिफोन, जसका माध्यमबाट जसले पनि कुराकानी गर्न सकोस् ।’ अनि, जब घरमा टेलिफोन जोडियो, त्यसपछि घण्टी बजिरहन्छ तब उसले सोच्न थाल्छ, यदि यो घण्टी बज्न बन्द भइदिएको भए कति राम्रो हुन्थ्यो । जे गर्दा पनि यो मनले मानिसलाई दुःख दिन्छ । यद्यपि, मानिसको मूल चाहना त खुशी हुनु नै हो । खुशी हुन चाहनु मानिसको प्रकृति हो । ऊ सन्तुष्ट हुन चाहन्छ । ऊ शान्तिमय भएर बस्न चाहन्छ । यो उसभित्रको तिर्खा हो । जबसम्म त्यो तिर्खा मेटिँदैन, तबसम्म तिर्खा लागिरहन्छ अनि बढिरहन्छ ।
मानिस आफूलाई खुशी तुल्याउने कार्यमा लागिपरेको छ । कसैलाई केही चीजले खुशी प्राप्त हुन्छ भने कसैलाई अर्कै चीजबाट खुशी प्राप्त हुन्छ । तथापि, उसले आफ्नो खुशीलाई जोगाएर राख्नै सक्दैन । हरेक चीजहरू बदलिरहन्छन् तर ऊ ती चीजहरू परिवर्तन भएको कुरालाई रुचाउँदैन । अब चीजबीजहरू त बदलिरहन्छन् । मानिसले एकदिन यो संसारबाट बिदा लिनुपर्छ भन्ने कुराका बारेमा सोच्दैन । उसले त म सधैँभरि बाँचिरहूँ भन्ने चाहना राख्छ । तर, एउटा बुझ्नुपर्ने कुरा के छ भने शायद यो कुरा थाहा पाएपछि तपाईँ अचम्मित हुनुहोला ।
वास्तवमा मानिससँग केवल २५,५५० दिन छ । मानिसको औसत आयु ७० वर्ष हो । अर्थात् २५,५५० दिन ! यसमध्ये कति दिन त बितिसकेको छ । किनभने, २५,५५० बाट एक–एकदिन घटिरहेको छ, जुन कहिल्यै फर्केर आउँदैन । हामीसँग जति समय छ, यो समयमा धेरै कुरा प्राप्त गर्ने कोसिस गर्न सक्छौँ । सन्त–महात्माहरूले त पहिल्यै बताउनुभएको छ– ‘यदि तिमी सूर्योदय हुने ठाउँबाट अस्त हुने ठाउँसम्मको राजा भए पनि तिमीले केही लैजाँदैनौ ।’ मानिस त के कुराको कोसिस गरिरहेको छ भने ‘मसँग एकदमै धेरै पैसा होओस्, मसँग यो होओस्, मसँग त्यो होओस् ।’
यो कुरा र एउटा उदाहरण उस्तै छ । किसानले उखु रोपे । जब तयार भयो तब उखुको मूल्यमा गिरावट आयो । उनले थोरै मात्र पैसा पाए । उनले सोचे, यदि गहुँ छरेको भए त पक्कै राम्रो हुन्थ्यो होला । बजारबाट राम्रै पैसा हातमा पथ्र्यो होला । त्यसपछि उनले गहुँ छरे तर त्यो समयमा प्याजको मूल्य बढी भइदियो । अब उनलाई प्याज रोपेको भए राम्रो हुन्थ्यो भन्ने लाग्यो । यसरी नै मानिसका सारा कुरा परिवर्तन भइरहन्छन् । तथापि, वास्तविक कुरा के हो ? वास्तविक सुख के हो ! यद्यपि, तपाईँले जीवनमा अन्य चीजहरू पनि हासिल गर्नुपर्छ तर त्यसलाई पनि प्राप्त गर्नुहोस् जसबाट तपाईँको हृदयमा शान्ति प्राप्त होस् । जसबाट तपाईँको हृदय खुशी होओस् । यो कुरा अत्यन्तै आवश्यक छ ।
तपाईँको जीवनमा आनन्द होला या नहोला तर यसलाई पूरा गर्ने सम्भाव्यता तपाईँभित्रै छ । यसका साथै त्यो पूरा नहुने सम्भावना पनि तपाईँभित्रै छ । यदि तपाईँले आँखा बन्द गर्नुभयो भने सूर्य चम्किइरहेको भए पनि त्यो किरणलाई समेत तपाईँले देख्न सक्नुहुन्न । यदि तपाईँलाई आफ्नो जीवनमा सुख होओस्, शान्ति होओस् भन्ने चाहना छ भने सृष्टिकर्ताले हरेक मानिसलाई यो सम्भावना दिएका छन् । आफ्नो जीवनमा आनन्द लिनुहोस्, अनि यो जीवनलाई सफल पार्नुहोस् ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)











प्रतिक्रिया