बेन्जिमाले गरे सम्झौता नवीकरण


लन्डन, (एजेन्सी) ।

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
स्पेनिस पत्रिका मार्काले फरवार्ड बेन्जिमाले सम्झौता नवीकरण गरेको जनाएको हो । बेन्जिमाले रियलसँग २०२४ सम्मका लागि सम्झौता गरेको मार्काले जनाएको छ ।

रियलले सम्झौताबारे चाँडै आधिकारिक रूपमा सार्वजनिक गर्ने मार्काले जनाएको छ । यसअघि फ्रेन्च फरवार्ड बेन्जिमाको रियलसँगको सम्झौता २०२३ सम्म रहेको थियो । ३४ वर्षीय बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए ।

बेन्जिमाले गत रियललाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । बेन्जिमा रियलको सर्वाधिक गोलकर्ताको शीर्ष पाँचमा पर्छन् । बेन्जिमाले रियलका लागि ४ सय १७ ला लिगा खेलमा २ सय २० गोल गरेका छन् । बेन्जिमाले रियलबाट २१ मुख्य उपाधि जितेका छन् । जसमा पाँच च्याम्पियन्स लिग र चार ला लिगा रहेको छ । फ्रेन्च क्लब मार्सेले डिफेन्डर एरिक बिलीलाई लोनमा अनुबन्ध गरेको छ ।

त्यसैगरी, मार्सेले बिलीलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडबाट अनुबन्ध गरेको छ । मार्सेले बिलीलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । युनाइटेडले स्थायी खेलाडीको रूपमा अनुबन्धका लागि समेत विकल्प दिएको छ । मार्सेमा बिलीले ३ नम्बरको जर्सी लगाउनेछन् । आइभरी कोस्टका बिली २०१६ मा भिल्ला रियलबाट युनाइटेड आएका थिए । २८ वर्षीय बिली पछिल्लो समय युनाइटेडको टिममा पर्न असफल हुँदै आइरहेका थिए । पछिल्लो पाँच सिजन उनले ४५ प्रिमियर लिग मात्र खेलेका थिए ।