बार्सिलोना र सिटीले बराबरी खेल्यो

0
Shares

लन्डन, (एजेन्सी)  ।

क्याटलान क्लब बार्सिलोना र इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् ।

बार्सिलोनाको घरेलू मैदान क्याम्प नोउमा बुधबार राति भएको खेलमा बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन् । सुरुवातमै पछि पर्नुका बावजुद बार्सिलोनाले खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । घरेलु टोली बार्सिलोनाका लागि पिएरे एमेरिक औवामियाङ, फ्रान्की डि जोङ र मेम्फिस डिपाएले गोल गर्दा सिटीका जुलयिन अल्भारेज, कोल पाल्मेर र रियाद महारेजले गोल गरे ।

खेलको २१औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समय टिकेन । खेलको २९औं मिनेटमा औवामियाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ६६औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए । बार्सिलोनाको त्यो अग्रता पनि लामो समय टिकेन । ७०औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको ७८औं मिनेटमा परिवर्तित खेलाडी डिपाएले गोल गर्दै बार्सिलोनालाई पुनः ३–२ को अग्रता दिलाएका थिए । त्यसपछि, इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई हारबाट जोगाए । सिजनको बिचमा मैत्रीपूर्ण खेल आयोजना गर्नुको कारण भने फरक रहेको छ ।

नशासम्बन्धि घातक रोग एम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस (एएलएस) बारे सचेतना जगाउन खेल आयोजना गरिएको हो । यस खेलबाट संकलित रकम लुजोन फाउन्डेसनमा दिइनेछ । त्यस्तै, पूर्व स्पेनिस तथा बार्सिलोना गोलरक्षक जोआन कार्लोस उन्जुएका लागि पनि सहयोग गरिने जनाइएको छ । यस मैत्रीपूर्णलाई ’द ग्रेट गेम फर द ग्रेट कज’ अर्थात ‘महान् खेल, महान कार्यका लागि’ नाम दिइएको थियो ।