मोटरसाइकल चोरी गर्ने लामा रानीबारीबाट पक्राउ

0
Shares

काठमाडौँ।

ट्राफिक प्रहरीले काठमाडौँको रानीबारीबाट मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका–२६ रानीबारीबाट मोटरसाइकल चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका–५ गौरीखर्कका ३० वर्षीय रमित लामालाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चोरी भएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी नयाँ नम्बर राखेर चलाउँदै आएका अवस्थामा पक्राउ गरिएको जानकारी दिए।

पक्राउ लामाले मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२प ३६६९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२–०३१ प ५८७ नम्बर राखी चलाएको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेको हो ।

उक्त मोटरसाइकल धादिङ सल्यानटारका दीपेन्द्र दाहालको भएको प्रवक्ता भट्टले बताए । पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको सो कार्यालयले जनाएको छ ।