कास्कीमा सडेगलेको अवस्थामा महिलाको शव भेटियो

0
Shares

कास्की।

कास्कीको रुपा गाउँपालिका ५ देउराली स्थित पानीसरा मज्र्याङकोटको एक पुरानो घरमा महिलाको शव सडेगलेको अवस्थामा भेटिएको छ । पोखरा महानगरपालिका ३० खुदी बस्दै आएकी गौरी बसौला हराएको दुई हप्तापछि सडेगलेको अवस्थामा उनकै पुरानो घरको छेउको घरमा शव फेला परेको हो ।

तीन घरमात्रै रहेको उक्त स्थानमा २ घरमा परिवार बस्दै आएका थिए । एक घर माथि र २ घर तल रहेको थियो । उनको शव भेटिएको घरको छेउमा श्रीमान् र आमा बस्दै आएका थिए भने, माथिल्लो घरमा बुद्दिमान परियारको परिवार बस्दै आएका थिए । गौरीको परिवारले त्यही घरको मुनि बाख्रा पालेका थिए ।

कोहीपनि नबस्ने पुरानो घरमा कुहिएर किरापरेको अवस्थामा उनको शव फेला परेको हो । बाहिरबाट ताल्चा लगाएको घरको आँटीमा उनको शव भेटिएको स्थानीय महेश्वर बसौलाले जानकारी दिए । ‘२६ गते साझँ घासँ काट्न घरबाट हेडेकी रहिछन्, एक अगाँलो घासँ काटेर हराएकी हुन्’ उनले भने,‘राती हराएको खबर पाएपछि सबैले तल तिर (पोखरा ३० खुदी) नजिकै खोजी भयो । विहान हामीले सबै तिर खोज्यौ तर, भेटिएन् ।’

निकै दुर्गन्ध आएपछि घरमा कोही नभएका कारण सोममाया परियार एक्लै गएर हेर्न डराएको उनले बताए । ‘डोरी लगाएको छ तर उत्तानो अवस्थामा शव छ । केही पनि चिन्ने अवस्था नै छैन्’ उनले भने । गौरी वर्षैदेखी खुदीमै बस्दै आएकी थिइन् । खुदीबाट पुरानो घर करिब १५ किलोमिटरभन्दा बढीको दुरीमा जानुपर्छ ।


साउन २७ गते जनै पूर्णिमाका दिन श्रीमानलाई ससुरालीमा धागो लगाउन जाने भए जाउँ भन्दै आग्रह गरेकी उनी एकाएक हराएको र अहिले मृत अवस्थामा फेला परेको रुपा गाउँपालिका वडा ५ का वडा सदस्य रामकृष्ण बसौलाले बताए ।

चाबी लगाएको घरमा उनको शव भेटिनु आश्चार्यको कुरा रहेको उनको भनाई छ । ‘घरमा चाबि लगाएको थियो । माथि आर्टीँमा शव भेटिएको छ’ उनले भने,‘यहाँ हामीले पहिला पनि खोजेका थियौँ । बाहिरबाट चाबी लगाएको भएर यहाँ छैन् भन्ने लाग्यो र भित्र गएनौँ ।’

उक्त घरमा करिब एक हप्ता अघिदेखी गन्हाउन थालेपछि बुद्धिबहादुुर परियारले गाउँमा भनेपनि सिनो होला भनेर वेवास्ता गर्दै आइरहेका थिए । ‘अलिकति मुनि बाख्रा पालेको थियो त्यहि २०–२१ वटा होलान् । ६÷७ दिन अघिबाट निकै गन्ध आएको थियो । हामी त मुसा वा त्यस्तै केही मरेर गन्ध आएको होला भन्ने साच्यौँ’ बुद्धिले भने,‘ त्यो गन्ध आएपछि रामचन्द्र बसौला (वडा सदस्य), हरिचन्द्र बसौला, सूर्य पाण्डे लगायतले दिउँसो हेरेका पनि हुन् । केहि देखेनन् रे म त डर लाएर गइन् ।’

महेश्वरले बुद्धिमानको श्रीमती सोममाया परियारले भेटि लिएर जाने क्रममा निकै गन्ध आएको बताएपछि त्यहाँ आएर पुनः हेरिएको थियो । उनले ढोकामा चाबि लगाएको देखेपछि त्यहिका एक निवृत्त आर्मीले ढोकाको चाबी फोडेर हेर्नुपर्छ भनेपछि प्रहरीको रोबरमा चाबि फुटालिएको हो । शव गौरीकै भन्ने छिमेकी र परिवारले पहिचान गरेका हुन् ।

उक्त स्थानबाट प्रहरीले पासो बनाएको र चुडिएको अवस्थामा नाम्लोको डोरी, आसीँ, विभिन्न औषधी, पानी समेत भेटेको वडा सदस्य रामकृष्णले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले आत्महत्या वा हत्या भएको भन्ने विषयमा पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने बताए ।
‘पोष्टमार्टम रिपोर्ट नआएसम्म कुनै आइडिया नै भएन । अहिले पोष्टमार्टका लागि राखिएको छ । सडेगलेको अवस्थामा भएको भएर यहि हो भन्ने अवस्थामा छैन्’ उनले भने,‘ मृत्युको कारण के आउँछ ? एन्टी आउँछ की अथावा, पोइजनिङ आउँछ की अथवा कोहि थर्ड पर्सनको संलग्नता पो देखिन्छ की ? उही समयमा हामीले हत्या नि हुन सक्छ आत्महत्या नि हुन सक्छ भन्ने हिसाबले अनुसन्धान गरिरहेका छौँ ।’