पाँच वर्ष बित्दा पनि अध्यक्ष कोइरालाको हत्यारा पत्ता लागेन

0
Shares

काभ्रे । 

२०७४ सालको बैशाख ३१ गते धुलिखेल नगरपालिका वडा नम्वर २ मा निर्वाचित वडा अध्यक्ष राजन कोईरालाको हत्या भएको पाँच वर्षसम्म हत्याको कारण र हत्यारा पत्ता नलगाएको भन्दै स्थानीय सरकार तथा आफन्तहरुले सरकारको आलोचना गरेका छन् । ५ औ राजन कोईराला स्मृति सभाको आयोजना गरी वडा कार्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले स्व. राजन कोईरालाको हत्यारा पत्ता लगाउन पटक पटक सरकारलाई अनुरोध गरेको भए पनि पत्ता लाग्न नसकेको बताउनु भयो । सामाजिक ब्यक्तित्व कोईरालाको स्मरणमा नगरपालिकाले पार्क निर्माण गरी शालिक राखेको बताउँदै नगर प्रमुख ब्याञ्जुले उहाँले देखाएका सामाजिक अभियानलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

 

नगरपालिकाले कोईरालाको स्मृतिमा वडा नम्वर २ मा पार्क निर्माण गरेको छ । सोहि पार्कमा राजन कोईरालाको शालिक बनाएको छ भने हरेक वर्ष कोईरालाको नाममा पुरस्कार वितरण गर्दै आएको छ । वडा कार्यालयले कोभिडको महामारी बाहेक हरेक वर्ष खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ । यो वर्ष उक्त कार्यक्रम आयोजना हुने वडा अध्यक्ष अर्जुन न्यौपानेले बताउनुभयो ।

कोईरालाले वडा कार्यालयलाई सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत गुणस्तरीय र दिर्घकालिन योजनाका साथ विकास निर्माणको अभियानलाई अघि बढाउन शुरु गरेका सबै कार्यक्रमहरुलाई जनप्रतिनिधिहरुले निरन्तरता दिएको वडा अध्यक्ष न्यौपानेले बताउनु भयो । कार्यक्रममा कोईरालाको स्मृतिको अवसरमा वडामा रहेका ७० वर्ष भन्दा माथिका १ सय १७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

सोहि वडाका ९८ वर्षिय योगनाथ अधिकारीलाई पनि विशेष सम्मान गरिएको थियो । त्यस्तै २०४८ साल देखि निर्वाचित जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिएको थियो । त्यस्तै राजन कोईरालाको स्मृतिमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान गर्ने ब्यक्तिहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष अर्जुन न्यौपाने, धुलिखेल ११ का अध्यक्ष नारायण बडाल, निवर्तमान वडा अध्यक्ष अर्जुन न्यौपाने, पुर्व गाविस अध्यक्ष उद्धव चौलागाई, केदार कोईराला, स्व. राजन कोईरालाका भाई कृष्णहरी कोईराला लगायतले राजन कोईरालाले जनप्रतिनिधि हुँदा मात्रै नभई अन्य समयमा पनि रवि ओपीका लागि गरेको सामाजिक अभियान र योगदानका बारेमा चर्चा गरेका थिए ।