क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

0
Shares

काठमाडौं ।

क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाख रुपैयाँ सम्म तलब हुनेगरी काम लगाईदिन्छु भनी उनले पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।