नक्कली विद्यार्थी देखाएर लाखौं रुपियाँ हिनामिना

0
Shares

 भद्रपुर ।

झापाको एक सरकारी विद्यालयले नक्कली विद्यार्थी देखाएर लाखौं रुपियाँ हिनामिना गरेको छ ।
भद्रपुर नगरपालिका–४ मा रहेको जनकल्याण आधारभूत निम्नमाध्यमिक विद्यालयले नाम दर्ता गरी भर्ना भएको भन्दा दोब्बर विद्यार्थी संख्या देखाएर लाखांै रुपियाँ हिनामिना गरेको हो ।

कक्षा १ देखि ७ सम्म सञ्चालन हँदै आएको विद्यालयले सक्कली विद्यार्र्थी अनुमानित ७० जना मात्रै रहेकोमा नक्कली विद्यार्थी देखाएर जम्मा १ सय ७३ जनाको हाजिरी देखाएको फेला परेको छ । शैक्षिक सत्र शुरु भएपश्चात् जेठ, असार र साउन मसान्तसम्म शतप्रतिशत विद्यार्थीको हाजिरी गरे पनि भदौ महिनाको शुरुआतीदेखि हाजिरीअनुसार ४७ जनाको मात्र हाजिरी गरिएको छ । जसअनुसार कक्षा १ मा २३ जना, २ मा २५, ३ मा २५, ४ मा २४, ५ मा २२, ६ मा २६ र ७ मा २८ विद्यार्र्थीको नाम दर्ता भए पनि सक्कली ४७ जना विद्यार्थी मात्र रहेको हाजिरी पुस्तिकाले देखाएको छ ।

विद्यालयका शिक्षकहरु प्रधानाध्यापकले हाजिरी पुस्तिकामा दर्ता भएका सबै विद्यार्थीको हाजिरी गराउन निर्देशन दिने गरेको बताउँछन् । सक्कली विद्यार्थी थोरै भए पनि भद्रपुर नगरपालिकाको शिक्षा शाखामा रेकर्ड पठाउँदा शतप्रतिशत हाजिरी गराएर पठाउने गरेको शिक्षकहरुको भनाइ छ । विद्यालयमा दरबन्दी कायम राख्नका लागि नक्कली विद्यार्थी देखाएको विद्यालयका प्रधानाध्यापक बालानाथ रेग्मीले स्वीकार्नुभयो । विद्यार्थीको खाजाबापत आउने रकमलाई कम्प्युटर शिक्षक सुुशन तामाङलाई ६ हजार, अङ्ग्रेजी शिक्षक नीता किस्कु, नेपाली शिक्षक तमन्ना राजवंशी र गणित शिक्षक भुवन बस्नेतलाई थप जनही ५ हजारका दरले मासिक रकम दिने गरेको उहाँले बताउनुभयो ।

विद्यालयको हाजिरीपुस्तिकाअनुसार प्रतिदिन एक विद्यार्थी बराबर आउने खाजा खर्चबापत १५ रुपियाँका दरले ४७ जनाको रकम ७ सय ५ हुनुपर्नेमा रेग्मीले दैनिक २ हजार ५ सय ९५ रुपियाँ भद्रपुर नगरपालिकाको शिक्षा शाखाबाट लिने गरेको देखिएको छ । विद्यालयको तथ्यांकअनुसार प्रतिदिन १ हजार ८ सय ९० रुपियाँ भष्ट्राचार गरेको देखिएको छ । थप रकमको विषयमा हेड सरले तलबबाहेक कुनै पनि थप रकम नदिएको शिक्षकहरुको भनाइ छ ।

उहाँले अभिभावक सहयोग भन्दै प्रतिविद्यार्थी १ सय ५० रुपियाँका दरले भर्ना शुल्क लिएको, स्थान्तरण प्रमाणपत्र ५ सय रुपियाँलगायतका शीर्षकमा भएको खर्चको बिलबिजक देखाउन सक्नुभएन । नक्कली विद्यार्थी देखाउन नपाइने नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेल बताउनुहुन्छ । शिक्षा शाखामा कर्मचारी अभाव भएका कारण अनुगमन गर्र्न नसकिएको उहाँको भनाइ छ ।

नक्कली विद्यार्थी देखाएर विद्यालय सञ्चालन भएको पुष्टि भएमा नियमअनुसार कारबाही गरिने भुजेलले बताउनुभयो । नक्कली विद्यार्थी देखाएर विद्यालय सञ्चालन गरेको पुष्टि भएमा ठाडो कारबाही हुने नगर उपप्रमुख राधा कार्की पनि बताउनुहुन्छ ।