गोप्य तालिका बनाउँदै एक्सनमा उत्रिए बालेन्द्र

उपत्यका ट्राफिक प्रहरी प्रमुख र वडाध्यक्ष सँगसँगै

0
Shares

काठमाडौं । 

काठमाडौं महानरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ । पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरु गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पब हाउसमा गरेको हो ।

कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौं मल पुगेको थियो । मेयर साहले गोप्य तालिका तयार गरी अवैध संरचना भत्काउन थाल्नुभएको छ । ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि महानगरले काठमाडौं मलको दुईतले बेसमेन्ट भत्काएको हो । महानगरले डोजर, क्रेनसहित सामग्री लिएर संचरना भत्काउन पुगेका थियो ।

कामपा प्रमुख साहले सूचनालाई अटेर गरी मनपरी रूपमा संरचना निर्माण गरेपछि भत्काउन अभियान शुरु गरेको बताउनुभयो । ‘डबल पार्किङ स्पेसलाई व्यवसाय सञ्चालन गरे पनि भत्काएका हौं ।’ –कामपा प्रहरी प्रमुख पाण्डेले भन्नुभयो । काठमाडौं मलको संरचना भत्काएपछि सो टोली खिचापोखरीस्थित आरबी कम्प्लेक्स पुगेको थियो ।

आरबी कम्प्लेक्स व्यवस्थापनले पार्किङस्थलमा करिब डेढ दर्जन बढी पसल सञ्चालन गर्न दिएको थियो । ‘हामीले सबै हटरा हटाइदिएका छाैं ।’ –उहाँले भन्नुभयो । सुन्धारा र न्युरोड क्षेत्रका सपिङ मल भत्काउन वडाध्यक्ष चीनकाजी श्रेष्ठसमेत सहभागी हुनुभएको थियो । वडाध्यक्ष श्रेष्ठले मापदण्डको उल्लंघन गरी मनोमानी रूपमा संरचना बनाएपछि भत्काइएको जानकारी दिनुभयो । सटर भत्काउँदा व्यापारीले हारगुहार गरेका थिए ।

अधिकांश व्यापारीले दशैंसम्म नभत्काउन गरेको आग्रह महानगरले सुनेको नसुनेझंै गरी एकाएक भत्काउन शुरु गरेको थियो । महानगरले न्युरोडस्थित नबिल बैंक रहेको भवनको भूमिगत तलामा रहेको संरचना हटाउन निर्देशन दिएको थियो । उता, संरचना भत्काउने सूचना पाएलगत्तै प्रहरीले पसलबाट सामान हटाउन सहजीकरण गरेको थियो । टोलीले दिउँसो दरबारमार्ग पुगेर मापदण्डविपरीत बनेका संरचना एक-दुई दिनभित्रै हटाउन निर्देशन दिएको थियो ।

कामपाका मेयर साहले बबरमहलमा रहेको काठमाडौं जिल्ला अदालतले बाटोमा पार्किङ गर्न लगाएकोमा विरोध जनाउँदै तत्काल आफ्नै भवनमा पार्किङ व्यवस्था गर्न आग्रह गर्नुभएको छ । कामपाले एक साताअघि जिल्ला अदालतले नक्सा पास गरेको कागजात माग गर्दै पत्राचार गरेको थियो । अदालतले हालसम्म कागजात दिन नसकेको कामपा शहरी विकास विभागले जनाएको छ ।

कागजात नदिए के निर्णय गर्ने भन्ने विषयमा कामपाले कुनै तयारी थालेको छैन । तर, बेसमेन्टमा पार्किङको व्यवस्था नगरे कारबाही गर्ने चेतावनी दिएको छ । कामपाले राजधानीका ठूला मललाई निशाना गरी कारबाही अघि बढाउने तयारी गरेको छ ।

अधिकांश मलले पार्किङका लागि नक्सा पास गरी व्यवसाय सञ्चालन गरिरहेको सूचना कामपालाई छ । स्रोतका अनुसार सीटीसी मल, बानेश्वरको अल्फाबिटा, त्रिविको स्वामित्वमा रहेको वल्र्ड ट्रेड सेन्टरलगायत दुई दर्जन बढी भवन महानगरको निसानामा रहेको छ । महानगरले ३ सय ३३ भवनको विषयमा अध्ययन गरिरहेको छ ।

यसअघि ६ गते सोमबार बानेश्वर कम्प्लेक्समा कामपाले डोजर चलाएको थियो । महानगरले साउन २ गते ३५ दिने सूचना जारी गरी ५ गतेबाट भत्काउन थालेको थियो । संरचना भत्काउनुअघि कामपाले रानीपोखरी प्रहरी र उपत्यकका ट्राफिक प्रहरीसँग समन्वय गरेको थियो ।

१० हजार स्क्वायर फुटभन्दा बढी फार भएको भवनको बेसमेन्ट बनाउने गरी नक्सा लिएका थिए । कामपाले २०७५ पछि निर्माण भएका भवनको मात्र बेसमेन्टको रेकर्ड राखेर कारबाही थालेको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणले ठूला भवनको मापदण्ड तयार गरेको थियो । सोही मापदण्डको आधारमा कामपाले सपिङ मल र केही ठूला भवनको नक्सा पास गरेको थियो ।

निर्माणसम्बन्धी मापदण्ड २०६४ अनुसार घर तथा भवन बनाउँदा बेसमेन्टको स्वीकृति दिने व्यवस्था छ । उपत्यका विकास प्राधिकारणका विकास आयुक्त जानुका ढकालले प्राधिकरणले तयार गरेको मापदण्डको आधारमा कामपाले नक्सा पास गरेको बताउनुभयो ।

‘नक्सा पास गर्नेदेखि राजस्व संकलन गर्नेसम्मको अधिकार स्थानीय तहलाई भएका कारण कामपाले मापदण्डविपरीत बनेका भवनको संरचना भत्काउन शुरु गरेको हो ।’ –विकास आयुक्त ढकालले भन्नुभयो । उहाँका अनुसार प्राधिकरणले मापदण्डअनुसार निर्माण भए-नभएको विषयमा अनुगमन गर्ने अधिकार प्राधिकरणलाई भए पनि नक्सा पास गर्ने निकाय स्थानीय तह भएकाले कामपाले अनुमगन गरी कारबाही गरेको हो ।

प्राधिकरणले हाउजिङ र अस्पतालको मापदण्ड अनुगमन शुरु गरेको बताउँदै मापदण्डविपरीत भए ती संरचनाहरु भत्काउने तयारी गरिरहेको ढकालको भनाइ थियो । बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि कारबाही आवश्यक भएको उहाँले बताउनुभयो । ‘व्यापारिक मल भाडामा दिने अनि बाटोमा पार्किङ गर भन्ने विषय गलत छ । त्यसैले राजधानीको पार्किङलाई व्यवस्थित गर्न बेसमेन्ट खाली गर्ने अभियान थालेको हो ।’ –विकास आयुक्त ढकालले ।

प्राधिकरणले तयार गरी कामपाले लागू गरेको मापदण्डको भूमिगत तलासम्बन्धी व्यवस्थाअनुसार भूमिगत तलालाई आवासको निमित्त प्रयोग गर्न नपाइने उल्लेख छ । तर, भूमिगत तहलाई दुई तलासम्म बनाउन पाइन्छ । भूमिगत तलामा सामान्य प्रज्वलनशील खालका घरेलु वा अन्य वस्तु स्टोर गर्न र पछाडिपट्टि भूमिगत कोठाका लागि उपयोग गर्न, एयर कन्डिसनसम्बन्धी वा अन्य मेसिन वा यन्त्र राख्न र पार्किङका लागि प्रयोग गर्न पाइने व्यवस्था छ ।

निर्देशकले बनाउँछन् तालिका

मापदण्ड पालन गरे-नगरेको विषयमा अनुगमन गर्ने निकाय काठमाडौं महानगरको शहरी विकास विभागले मापदण्डविपरीत बनेका भवनको संरचना भत्काउन तालिका तयार गरिरहेको छ ।

कामपा स्रोतका अनुसार विभागका निर्देशक सुरज शाक्यले दैनिक कारबाही गर्ने भवनको तालिका तयार गरिरहनुभएको छ । धरधनीले चेतावनी दिने वा विभिन्न निकायबाट दबाब आउने भएपछि मोबाइल अफ गरेर तालिका तयार गरिरहनुभएको छ ।

‘उहाँले जुन दिन भत्काउने हो सोही दिनको बिहान मात्रै सम्बन्धित निकायलाई जानकारी दिने गर्नुभएको छ ।’ –स्रोतले भन्यो । ३ सय ३३ वटा लिस्टमध्ये कुन दिन कुन क्षेत्रको भवन भत्काउने भन्ने विषयमा लिस्ट तयार गरेपछि मात्र एक्सनमा जानेछ ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले भोलि कुन क्षेत्रमा एक्सानमा जाने भन्ने विषयमा अहिले नै जानकारी नहुने बताउनुभयो ।‘हामीले भत्काउन थालेपछि तपाईंहरुले देखिहाल्नुहुन्छ नि ?’ –उहाँले भन्नुभयो ।