संघीय निर्वाचन स्वच्छ नहुने एमालेको आशंका

देउवा–ओली भेट

0
Shares

काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार प्रमुख विषय उठाउनुभएको छ ।

आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुने निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘चुनाव निष्पक्ष हुनेमा एमालेलाई आशंका पैदा भएको छ, सत्ता गठबन्धनले जसरी दम्भ देखाएको छ, त्यसले यही संकेत गर्दछ ।’ चुनाव आउन अझै समय बाँकी छ, तर गठबन्धनले अहिलेदेखि नै दम्भ प्रदर्शन ग¥यो भन्दै ओलीले यो चुनावको माहोल बिगार्ने प्रपञ्च भएको टिप्पणी गर्नुभएको थियो ।

एमाले अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दललाई बिर्सेर मनलाग्दी गर्न नहुने भनाइ राखेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभएको छ । ओलीको यो भनाइ सरकारले ल्याएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लक्षित थियो भन्दै पौडेलले ‘यो देशमा एमाले भन्ने पार्टी पनि छ नि प्रधानमन्त्रीजी’ भनेर ओलीले प्रधानमन्त्री देउवालाई सजग गराउनुभएको बताउनुभयो ।

‘यो कुरा बिर्सेर सत्यनिरुपण तथा मेलमिलाप तथा बेपत्तासम्बन्धी आयोगमा मनलाग्दी गर्ने ?’, ओलीको प्रश्न थियो– ‘सरकारले यस्तो संवेदनशील विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल गर्नुपर्ने होइन र ? कि एक्लै हिँडेर पुगिन्छ भन्ने तपाईंलाई परेको हो?’ एमाले अध्यक्ष ओलीले उठाएको तेस्रो विषय थियो– नागरिकता विधेयक ।

उहाँले प्रधानमन्त्री देउवासँग नागरिकता विधेयक रोक्न आग्रह गर्नुभयो । संसद्ले नागरिकता विधेयक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले केही विषयमा पुनर्विचार गर्नुपर्ने भन्दै संसद्मै फिर्ता पठाएपछि अहिले जस्ताकोत्यस्तै पुनः राष्ट्रपतिकहाँ पठाउने तयारी भएको छ ।

प्रतिनिधिसभाले जस्ताकोतस्तै पारित गरिसकेको विधेयक अहिले राष्ट्रिय सभामा पठाइएको छ । अब राष्ट्रिय सभाले पनि पारित गरेमा राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । ‘राष्ट्रपतिको जायज सरोकारलाई ध्यान दिनुको साटो सरकारले हुबहु नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गरेर भिड्ने मनस्थिति बनायो । यसलाई रोक्नुहोस् ।’ –ओलीले सजग गराउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी हुनुहुन्थ्यो ।

सञ्चारमन्त्री कार्कीका अनुसार भेटमा ओलीले महँगीका विषयका साथै अन्य समयसामयिक विषयमा प्रधानमन्त्री देउवासामु जिज्ञाशा राख्नुभएको थियो । झण्डै डेढ घण्टा भएको भेटमा प्रधानमन्त्री देउवाले ओलीले उठाएका विषयमा सकारात्मक जवाफ दिनुभएको जनाइएको छ ।अध्यक्ष ओलीले उठाएको अर्को विषय जनजीविकासँग सम्बन्धित छ । उहाँले मूल्यवृद्धि र महँगीबाट जनता आक्रान्त हुँदा पनि सम्बोधन नभएको गुनासो गर्नुभयो ।

महँगी नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने ओलीको सुझाव थियो । प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीले उठाएका विषय सत्तारूढ गठबन्धनमा पनि राख्ने बताउनुभएको सञ्चारमन्त्री कार्कीले बताउनुभएको छ ।