अवैध रूपमा नदीजन्य सामग्री ढुवानी गरिरहेका ७ वटा सवारी प्रहरी नियन्त्रणमा


भद्रपुर।

अवैध रूपमा नदीजन्य सामग्री ढुवानी गरिरहेका ७ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्जुनधारा नगरपालिका–१ स्थित विरिङ नदीबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन् गरी ढुवानी गरिरहेका दुईवटा टिपर र छवटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार खोलाजन्य सामग्री उत्खनन, संकलन र ओसार पसारमा प्रतिबन्ध लगाएको समयमा त्यस कार्यमा प्रयोग भएका सवारीसाधन नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकका अनुसार निषेध गरेकै समयमा विरिङ नदीमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा मे १ त ६३४०, प्रदेश–१–०१–००१ त ८२३९, को १ त ६४४ र मे १ त ५१३६ नम्बरको ट्याक्टर तथा प्रदेश–१–०१–००१ क ११२४ र वाग्मती प्रदेश–१–०६ ख ३६४७ नम्बरको टिपरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोही स्थानबाट मंगलबार मे १ त ६२०९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयोे ।

ट्याक्टरहरू अर्जुनधारा–१ तथा टिपरहरू अर्जुनधारा–८ स्थित विरिङ नदीबाट नदीजन्य सामग्री ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको उहाँको भनाइ छ । नियन्त्रणमा लिइएका टिपर र ट्याक्टरहरु प्रहरीले आवश्यक कारबाहीका लागि अर्जुनधारा नगरपालिकामा बुझाएको बताउनु भयो ।

सरकारले असार १ गतेबाट भदौ मसान्तसम्म खोला तथा नदीबाट नदीजन्य सामग्री उत्खनन् गर्न प्रतिबन्ध लगाएको छ । यही समयमा खोलाजन्य सामग्री तस्करहरुले चोरी निकासी गर्ने गरेको पाइएको छ ।