स्याङ्जामा मिटर ब्याजीविरुद्ध दुई जनाले दिए उजुरी

0
Shares

स्याङ्जा। 

मिटर ब्याजमा पैसा र जग्गा कब्जा गरेका साहुहरुलाई अब कारबाही हुने भएको छ । निरक्षर, गरिब र आर्थिकरुपले अफठ्यारोमा रहेका व्याक्तिहरुलाई शोषण गरेको खबर बाहिर आएपछि गृहमन्त्रालयले कार्यदल गठन गरी उजुरी दिन पाइने व्यवस्था गरेको हो ।

मिटरब्याजीका कारण धेरै नागरिकको घरखेत लिलामदेखी विचल्ली परेको विषयमा देशका सबै जिल्ला प्रशासनमा उजुरी दिनपाइने व्यवस्था गृहमन्त्रालयले शुरु गरेको छ । सोही मुताविक स्याङ्जामा पनि मिटरब्याजी बिरुद्ध जिल्ला प्रशासनमा उजुरी दर्ता भएको छ ।

स्याङ्जामा दुईजनाले मिटरब्याजीबाट आफू अफठ्यारोमा परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।अहिले सम्म प्रशासनमा दुईओटा उजुरी आएका छन् प्रजिअ पौडेलले भन्नुभयो, ‘गृहमन्त्रालयको निर्देशन अनुसार उजुरी गृहमन्त्रालयमा नै पठाईसकेका छौं ।’ के कसरी अनुसन्धान हुन्छ त्यो पछि सार्वजनिक हुने प्रजिअको भनाई छ । अहिले सम्म हामीलाई उजुरी बुझ्ने र मन्त्रालय पठाउने निर्देशन भएकाले सोही बमोजिम उजुरी गृहमा पठाएको प्रजिअ पौडेलले बताउनुभयो । छानविनको अधिकार हामीसगँ नभएको र पछि मन्त्रालयले प्रशासनमै पठाएर छानविन गर्न भनेमा जिल्लाबाटै हुने प्रजिअको भनाई छ ।

दुबै उजुरी फेदिखोला गाँउपालिकाबाट आएको प्रशासनले जानकारी दिएको छ । उजुरीकर्ता र मिटरब्याजीमा अपराध गर्ने (पीडित र पीडक) व्याक्तिको नाम भने गोप्य राखिएको छ । दुई उजुरी मात्रै प्रशासनमा परेपनि जिल्लामा यस्तो ठगी अपराध धेरै हुन सक्ने आशंका प्रशासनको छ ।

गोप्य रुपले त्यस्ता आपराधीक क्रियाकलाहरु घटेका छन् भने उजुरी दिन प्रशासनले आग्रह समेत गरेको छ । लेनदेन गर्नु अपराध नभएपनि लेनदेनबाट कमाउने उदेश्य राखी चर्काे ब्याजमा ठगी गर्नु गैह्रकानुनी हुने बताइएको छ ।

मिटरब्याजीबाट आर्थिक अपराध गर्नेहरुलाई कानुनी दायरामा ल्याउन सरकारले साउन २७ गते गृहमन्त्री स्तरीय बैठकबाट कार्यदल गठन गरेको थियो । यो सूचना सार्वजनिक भएपछि उजुरी दिनेक्रम बढ्न थालेको छ । आर्थिक आपराधीक क्रियाकलापमा परेका उजुरीमाथि गृहमन्त्रालयले कसरी छानविन गर्छ र कस्तो कारवाहि हुनेछ भन्ने बिषय भने खुलाइएको छैन । यस्ता अपराधमा संलग्न व्याक्तिहरुलाई कडा कारवाही गर्नुपर्ने र यो सूचनालाई वडातह सम्म पुर्‍याउनुपर्ने स्थानीयहरुको भनाई छ ।