काभ्रेमा मिटर ब्याजीविरुद्ध १७ जनाले दिए उजुरी

0
Shares

काभ्रे।

सरकारले मिटर ब्याजीविरुद्ध उजुरी दिन आव्हान गरेको अन्तिम दिनसम्म जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा १७ जना पीडितले ३० भन्दा धेरै मिटरब्याजी विरुद्ध जाहेरी दिएका छन् । अवधि कम भएकाले सबै पीडितहरू प्रशासनसम्म आईपुगेका छैनन् भने धेरै पीडितहरू त्रासकै कारण खुल्न सकेका छैनन् ।

‘सरकारले दिएको म्याद भित्र प्रशासन कार्यालयमा १७ जना पीडितहरुले उजुरी गरेका छन्’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘म्याद भित्र आएका उजुरीका बारेमा अध्ययन भइरहेको छ ।’ सरकारले उजुरी पछि कस्तो कारबाही अघि बढाउने भन्ने निर्णय नगरेकाले उजुरी गर्ने पीडित र पीडक दुवैको नाम गोप्य राखिएको छ ।

सरकारले उजुरी दिन आव्हान गर्नु अगावै काभ्रेमा मिटर ब्याज पीडितहरूको भागाभाग भएको थियो । अहिले पनि केही भूमिगत छन् भने केहिलाई मिटर ब्याजीको समूहले कुटपिट गरी जिल्ला आउन दिएका छैनन् उनीहरू उजुरी गर्न सक्ने अवस्थामा छैनन् ।

मिटरब्याजीहरुले पीडितहरूसँग रकम लिनु अगावै खाली चेक हस्ताक्षर गरेर लिएकाले चेक अनादर मुद्दामा जेल जान थालेका छन् । मिटरब्याजीहरुले खाली चेकमा मनलाग्दी रकम भरिरहेका छन् ।

मिटर ब्याज लिनेमा सहकारीहरु पनि छन् । सहकारीका प्रबन्धकहरू, सञ्चालकहरूविरुद्ध पनि जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । झिगु लुनीभा बचत तथा ऋण सहकारी संस्था, स्वर्णिम सहकारी, एशिएन स्टार बचत, गतिशील सहकारी लगायत थुप्रै सहकारी किलोमिटर ब्याज लिनेको सूचीमा छन् ।

जिल्लाको विभिन्न क्षेत्रमा कारोबार गर्ने शिखरपुर होक्से घर भएका प्रताप सिं तामा, बनेपाका प्रवीण लामा, दिनेश राउत, उमेश राउत, मनीषा मर्धिकर्मी राउत क्षेत्री, नवराव बानियाँ, राजकुमार बराल, आसमान तामाङ, दिपक थापा, बलराम सुवाल, बलराम पाठक, पवन तामाङ, अशोक लामा, उर्मिला प्रधान, रामबहादुर कार्की, रक्तिम तामाङ लगायत ३० भन्दा धेरै विरुद्ध उजुरी दर्ता भएको छ ।