चौरीखोला लघु जलविद्यूतका सामान कवाडीमा 

स्थानीयहरुको अवरोधपछि काठमाडौं पु-याईएका सामान गाउँपालिकामा फर्काइयो

0
Shares

काभ्रे । 

चौरीखोला लघु जलविद्युत आयोजनाका लाखौँ मूल्य पर्ने सामाग्री एकलौटी व्यक्तिगत कवाडीलाई विक्री गरिएको छ । स्थानीय शिक्षक समेत रहेका बमबहादुर लामाले गाउँपालिकाको सिफारिसका आधारमा कवाडीमा महत्त्वपूर्ण सामान विक्री गराएका हुन् ।

स्थानीयको मौखिक उजुरीका आधारमा विक्री गरी काठमाडौँ पु-याईएका केही सामान चौर देउराली गाउँपालिकाको प्राङ्गणमा सवारी साधन सहित नियन्त्रणमा राखिएको छ । अन्य केही सामान जलविद्युत आयोजनामा नै अलपत्र अवस्थामा छाडिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानदास लामाले सार्वजनिक सम्पत्ति बोलपत्र मार्फत लिलाम बढाबढमा विक्री गर्नु पर्ने भए पनि वडा कार्यालयले सिफारिस दिन नमान्दा नमान्दै विक्रीका लागि गरिदिएको सिफारिसका आधारमा शिक्षक बमबहादुर लामाले विक्री गरेका हुन् । साबिक धुशेनी शिवालयका सबै वडाहरू र माझिफेदा गाविसको वडा नम्बर १ मा उक्त आयोजनाको बत्ती बलिरहेको थियो । धुेशनी शिवालय हाल वडा नम्बर ४ मा पर्छ ।

माझिफेदा वडा नम्बर ३ मा पर्छ । केन्द्रीय लाइन सुचारु भए सँगै उक्त आयोजना बन्द भएको थियो । १० लाख रुपैयाँमा कवाडीको सामान विक्री गर्ने टुङ्गो लगाएर जलविद्युत आयोजनाका डुँड लगायतका सामान विक्री भइसकेको छ । सरकारी सम्पत्ति क्षति भएकोमा कानुनी कारबाही गर्नु पर्ने स्थानीयको तर्क छ । विक्री भएका सामान फिर्ता गरिएको भए पनि थप प्रक्रिया अघि बढ्न सकेको छैन ।

माझिफेदामा गुम्बा बनाउने प्रयोजनका लागि शिक्षक बमबहादुरले कवाडीमा सरकारी सम्पत्ति विना प्रतिस्पर्धा निर्णय बेगर नै विक्री गरेको स्थानीयहरूले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत मानदास लामाले वडाको सिफारिसका आधारमा पोल र तार काट्न सिफारिस दिएको बताउनु भयो । ‘एक स्थानको काट्नु पर्ने सामान अर्को स्थानको काटिएछ’–प्रमुख प्रशासकीय अधिकृत मानदास लामाले

भन्नुभयो–‘वडाको सिफारिसका आधारमा मैले सिफारिस दिएको हुँ ।’ वडा अध्यक्ष चित्रप्रसाद चौलागाईले आफूले कवाडीमा सामान विक्री गर्ने प्रयोजनका लागि कुनै पनि सिफारिस नदिएको बताउनु भयो । ‘सरकारी सम्पत्ति दुरुपयोग गर्ने तथा विक्री वितरण गर्ने प्रयोजनका लागि सिफारिस गरिएको छैन’– वडा अध्यक्ष चित्रप्रसाद चौलागाईले बताउनु भयो–‘चौरीखोला लघु जलविद्युतका सामान चोरी भएका छन् । चोरी भएका सामान बरामद गरिएको छ ।

केही दिन पछि हुने छलफलबाट टुङ्गो लगाउने छौँ ।’ प्रहरी चौकी ढाँड खर्कका इन्चार्ज रामशरण कोइरालाले आयोजनाका सामान चोरी भएको बताए । चोरी भएका केही सामान नियन्त्रणमा लिएको भए पनि व्यक्ति पक्राउ नपरेको कोइरालाले बताउनु भयो ।

वडाले सिफारिस नदिँदा नदिँदै गाउँपालिकाले सिफारिस दिएका आधारमा कवाडीले सामान काठमाडौँ पु-याएको सूचना लगत्तै वडा अध्यक्ष चित्रप्रसाद चौलागाईको टोलीले सामान बरामद गरेको थियो । स्थानीयहरूले भने सामान विक्री गर्ने र लैजाने दुवै समूहलाई क्षतिपूर्ति सहित कानुनी कारबाही गर्नु पर्ने बताएका छन् ।