बजेट बाहिरका योजना गर्न नपाइने

0
Shares

काठमाडौं । 

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आइतबारदेखि रोक लगाएको छ ।

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ योजना र कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने तथा समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने भन्दै नयाँ योजना र कार्यक्रममा रोक लगाइएको हो ।
‘मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न नगराउन नेपाल सरकार, सातवटै प्रदेश सरकार र ७५३ वटै स्थानीय तहलाई आयोगले निर्देशन दिएको छ’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगका अनुसार विपद् वा महामारीको पूर्वतयारी वा कुनै विपद्को अवस्था परी विपद् व्यवस्थापनसबन्धी कार्य गर्नुपर्ने वा मानवीय सहायता प्रदान गर्नुपर्ने वा स्वास्थ्य महामारीको अवस्थामा सोे सामाना गर्न आवाश्यक उपाय अबलम्बन गर्नुपर्ने विषयमा भने सो निर्देशन लागु हुने छैन ।

सो बाहेक कुनै पनि प्रकारको नयाँ आयोजन तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगराउन तीनै तहका सरकारलाई आयोगले निर्देशन दिएको छ । तर, यसअघि नै बजेटमार्फत घोषणा गरिएका योजना तथा कार्यक्रम भने यथावतरूपमा सञ्चालन गर्न सकिने आयोगको भनाइ छ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई प्रभावित पार्दै बजेटमा नभएका कार्यक्रम तथा आयोजनाहरू कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।