कामपाको आधा बेरुजु फस्रयाैट

0
Shares

काठमाडौं  । 

काठमाडौं महानगरपालिकाले २ अर्ब रुपियाँभन्दा बढीको बेरुजु फस्र्यौट गरेको छ । आर्थिक वर्ष २०७३-७४ देखि २०७६-७७ सम्मको ४ अर्ब ८२ करोड ५७ लाख ९९ हजार बेरुजुमध्ये २ अर्ब ४ करोड २७ लाख ७६ हजार ७ सय ५ रुपियाँ ९४ फस्र्यौट गरेको हो ।

फस्र्यौट हुन बाँकी २ अर्ब ७८ करोड ३० लाख २२ हजार ६ सय ३२ रुपियाँमा आर्थिक वर्ष २०७७/७८ को १ अर्ब ६ करोड ७४ लाख ४४ हजार रुपियाँ फेरि बेरुजु थपिएको महानगरपालिकाका आन्तरिक लेखा परीक्षण तथा समपरीक्षण एकाईका प्रमुख गोपालप्रसाद पोखरेलले जानकारी दिनुभयो । अब महानगरले फस्रयाैट गर्नुपर्ने ३ अर्ब ८५ करोड ४ लाख ६७ हजार पुगेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले ‘बेरुजु फस्र्याैटमा हामीले प्राप्त भएको उपलब्धि महत्वपूर्ण हो । यति ठूलो रकम फस्र्याैट विगतमा भएको थिएन ।’ महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/०७४ देखि काठमाडौं महानगरपालिकाको अन्तिम लेखापरीक्षण गर्न शुरू गरेको थियो । त्यसपछिका आर्थिक वर्षको छुट्टाछुट्टै वार्षिक लेखा परीक्षण प्रतिवेदनमा बेरुजु कायम गरिएको छ ।

जसअनुसार शुरूको वर्ष १ अर्ब १० करोड २५ लाख ५८ हजार ३३८ रुपियाँ बेरुजुमध्ये २५ करोड ८० लाख ९५ हजार ३ सय ६६ रुपियाँ ६२ पैसा बेरुजु फस्र्र्याैट भयो । समपरीक्षण एकाईका प्रमुख पोखरेलका अनुसार यो वर्षमा असुल गर्नुपर्ने ६ करोड ११ लाख ६० हजार रुपियाँ, अनियमित देखिएको ४९ लाख ४४ हजार रुपियाँ र प्रमाण कागजात पेस नभएको ८१ करोड ९२ लाख ५८ हजार रुपियाँ थियो ।
आर्थिक वर्ष २०७४/७५ मा उठान भएको ३४ करोड २७ लाख ३० हजार बेरुजु रकममा १९ करोड ४४ लाख ३१ हजार ५ सय ७७ रुपियाँ ३३ पैसा फस्र्यौट भयो ।

यसमा १० करोड ६७ लाख ६५ हजार रुपियाँ असुल गर्नुपर्ने, १३ करोड ७४ लाख ८६ हजार रुपियाँ अनियमित देखिएको र २ करोड ३४ लाख २५ हजार रुपियाँ प्रमाण कागजपत्र पेस नभएको रकम भएको पोखरेलको भनाइ छ । यसै गरी आर्थिक वर्ष २०७५/७६ मा औंल्याइएको १ अर्ब ४३ करोड ९३ लाख ५७ हजार रुपियाँ बेरुजुमध्ये ४४ करोड ४८ लाख ९६ हजार ५०२ रुपियाँ ९८ पैसा फस्र्यौट भयो । यसमा ८४ करोड १३ लाख ६४ हजार रुपियाँ असुल गर्नुपर्ने, ३५ करोड ११ लाख ५५ हजार रुपियाँ अनियमित भएको र १३ करोड ६ लाख २८ हजार रुपियाँ कागजपत्र पेस नभएकाले बेरुजु थियो ।

आर्थिक बर्ष २०७६/०७७ मा १ अर्ब ९४ करोड ११ लाख ५४ हजार रुपियाँ बेरुजु उठान भएकोमा १ अर्ब १४ करोड ५६ लाख ६२ हजार २५९ रुपिया“ १ पैसा फस्र्याैट भएको छ । बेरुजु रकममध्ये ५३ करोड ४८ लाख ५३ हजार रुपियाँ असुल गर्नुपर्ने, १ अर्ब ३ करोड १९ लाख १९ हजार रुपियाँ अनियमित भएको र ३१ करोड १६ लाख १६ हजार रुपियाँ कागजपत्र पेस नभएको बेरुजु रकम थियो ।

विगतमा भएको बेरुजु अंक घटाउन तथा आउँदा दिनमा हुन नदिन महानगरको आन्तरिक लेखापरीक्षण शाखाले नियमित रूपमा आन्तरिक लेखापरीक्षण गर्ने गरेको छ ।