सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर १० तोला सुन चोरी

0
Shares

सप्तरी ।

राजविराज नगरपालिका-२ बसपार्क अगाडिबाट आइतबार राति घरमूलि सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर चोरले लाखौँ मूल्य बराबरको गरहना र नगद चोरेर लगेको छ।

स्थानीय श्याम देव सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर लाखौँ बराबरको गरहना र नगद चोरी गरेर लगेको पीडित श्याम देवले बताए । चोरी भएको घर र प्रहरी बिट १५ मिटरको दुरीमा छ । चोरहरू घरको मुख्य गेटबाट हाम फालेर भित्र पसेका थिए ।

चोरहरूले दराजको दुई वटा लकरको ताल्चा फुटाएर १० तोला सुनको गहना, एक किलो चाँदीको गहना र नगद २५ हजार लगेको पीडित श्याम देवले जानकारी दिए । देव घरमा एक्लै थिए । बिहान उठेर ढोका खोल्दा बाहिरबाट चुकुल लागेको थाहा पाएपछि नजिकै रहेको भाइ प्रमोद देवलाई फोन गरेर बोलाएपछि चोरी भएको खुलेको हो ।

केही दिनअघि कान्छो छोराको विवाह गरेकोले नयाँ बुहारीको गहना, जेठी बुहारी र श्रीमतीको समेत गहना चोरले लगेको छ। पछिल्लो केही दिनयता राजविराजमा मानिस नभएको, एक्लै भएको मौका छोपेर चोरी गर्ने घटना बढिरहेको छ ।

राजविज(२ स्थित अमरदीप देव र पाण्डव सिंहको घरको ताल्चा फोरेर लत्ताकपडा, गरगहना, नगद चोरी भएको दुई साता नबित्दै पुनह राजदेवी चोकको प्रहरी बिट अगाडिबाटै चोरी हुनु दुःखद् घटना भएको स्थानीयको भनाइ छ।