लोक गीत हिमनदी जस्तै हो : बमबहादुर कार्की



ख्यातिप्राप्त लोक गायक संकलक तथा संगीतकार बमबहादुर कार्की तीन दशक लामो समयदेखि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा चम्किएका छन्। लोक तथा लोकदोहोरी गीत संगीतको क्षेत्रमा उनको योगदान उल्लेखनीय छ। २०३४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका उनले कानुन विषयमा स्नातकसम्मको अध्ययन पूरा गरी २०३९ सालमा पहिलो गीत रेकर्ड गराई गायन यात्रा सुरु गरेका थिए। पानको पात, देवी देउराली, खोला पारी निरमायाजस्ता गीतका संकलक तथा गायक बमबहादुरले लोक गीत संगीतका ८४ एल्बम, आधा दर्जन अडियो सिडी तथा १० भीसीडी प्रकाशन गरेका छन्। रेडियो नेपालको उप सचिवसम्मको जागिरे जीवनबाट सेवानिवृत्त उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ

हाल के गर्दै हुनुहुन्छ ?

जागीरे जीवनबाट सेवा निवृत भइयो। अहिले पहिले संकलन गरेका गीत व्यवस्थित गर्ने र नयाँ गीत तयार गर्ने काम गरिरहेको छु। अलि अघि आफ्नै शब्द संगीत र शिवा आलेको स्वरमा मौलिक तीज गीत बजारमा ल्याएँ। दशैँ तिहारका गीत पनि तयार हुँदैछन्। साथै स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने खालका गीतको तयारीमा लागेको छु।

तीज नजिकिँदै गर्दा विभिन्न प्रकारका तीज गीत आइरहेका छन्। यस क्रममा पुरुषले पनि तीज गीत दोहोरी जस्तै गरि गाउने चलन आएको छ नि?

तीज गीत छोरा मान्छेले गाउन नहुने भन्ने त छैन। प्रसंगवस दीदी भाई बनेर गाउन सकिन्छ। तीज भनेको नारीको चाड भएकोले तीज गीतमा पुरुष गायनको महत्व खासै हुँदैन । तर अहिले पुरुषले पनि नारीजत्तिकै जोरका तोड गरेर तीज गीत गीत गाइरहेका छन्। वास्तवमा त्यो हाम्रो सांस्कृतिक पक्ष भने होइन। अहिले तीज गीतमा रत्यौली मिसाइएका छन्। अन्य लोक दोहोरी र तीज गीतमा फरक छैन।

अहिले जेठ असारदेखि भदौमा पर्ने तीज गीत आउन थालेका छन्। चाडपर्व सुरु हुने भएकाले साउन लागेपछि तीजमा कसरी गीत गाउने भनेर दिदी बहिनीहरूले अभ्यास गर्ने चलन थियो र तीजदेखि पञ्चमीसम्म गीत गाउने चलन थियो। त्यस्ता अभ्यास, अवलोकन तथा संकलन गरेर मैले पहिलोपटक २०४४ सालमा दिदी बहिनी नामक तीज गीतको क्यासेट ल्याएको थिएँ। त्यसमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका लगभग सबै गरी करिब ७० जना गायिकाको स्वर थियो। १० गीत समावेश एल्बम एक घण्टाको थियो। त्यसपछि, एक दुई वर्षको अन्तरालमा आफ्नो संकलनमा तीज गीत ल्याइरहेको छु। तर, आपँले तीज गीत भने गाएको छैन ।

हाल आइरहेका मौलीक भनिएका तीज गीत साँच्चै मौलिक छन् त?

धेरै कम मात्रामा मौलिक गीत आएका छन्। कतिपय गीत अरू गीत हुन् कि तीज गीत हुन् भनेर छुट्टयाउनै गाहाे। अस्ति एउटा तीज गीतमा त ड्रमसेट प्रयोग गरिएको पाएँ। अहिले यस्ता गीत धेरै परिमार्जित भएर आउन थालेका छन्।

कस्ता गीतलाई चाहिँ मौलिक मान्ने?

मौलिक शब्द, संगीत र लय भएका गीतलाई मौलिक गीत संगीत मान्ने हो। यस्ता गीतमा स्थान विशेषमा गाइने शब्द, लय, भाका आदि हुन्छन् भने असारमा गाइने भाका, कोदो रोप्दा गाइने गीत, तीजमा गाइने तीज गीत, दशंै तिहार तथा ऋतुअनुसार गाइने र स्थान विशेषमा गाइने गीत नै मौलिक गीत हुन्।

अहिलेका लोक गीत संगीतमा कस्ता बाजा प्रयोग हुन्छन्?

लोक गीतमा हाम्रा मौलिक बाजाको खासै प्रयोग नगरेर अन्य बाजाको प्रयोग गरिएको पाइन्छ। सिंगारपटारको लागि त राम्रै हो, तर पहिले जस्तो मुर्चुङ्गा, सारंगीजस्ता बाजाको प्रयोग गरिएको पाइँदैन। हाम्रोमा सांरगी, मुर्चुगा, खैंचडीजस्ता एउटा वाद्यवादनमा मात्र गाइने गीत फरक फरक छन्। जस्तै, सारंगीमा मात्र गाइने गीतलाई कर्थ भनिन्छ। जुन गाउँदा मादलको काम पनि सारंगीले नै गर्छ। यस्ता बाजाको प्रयोगमा फरकपन आएको छ। एक त यस्ता बाजा कम बनेका छन्। अर्को बजाउने मान्छेको पनि कमी छ। तर, कहीँ कसैले हाम्रो मौलिक बाजा भनी प्रयोग गर्न पनि थालेका छन्।

माैलिकताभन्दा पनि व्यावसायिक प्रायोजनलाई ध्यानमा राखी गीत संगीत आउने गरेका छन् नि?

त्यति बेला आर्थिक उपार्जनका लागि गीत गाइँदैनथ्यो। आफ्नो रहरले ठाउँ ठाउँमा गएर गीत संगीत संकलन गरिन्थ्यो भने रेडियो नेपालले आफ्नो लगानीमा रेकर्ड गथ्र्यो। हाम्रो पैसा खर्च हुँदैनथ्यो। रेडियो नेपालले सुरु–सुरुमा आधुनिक गीत गाउनेलाई पारिश्रमिक दिन्थ्यो। पछि लोक गीत गाउनेलाई पारिश्रमिक दिन थालेको हो। अहिले आफैंले लगानी गरेर गीत–संगीत ल्याउनुपर्छ। गीत संगीतको उत्पादन महँगो भएको छ।

यसमा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था छ। यस कारण मौलिक गीत संगीत खोजी र संरक्षणका लागि भन्दा पनि आर्थिक उपार्जनका हिसाबले कस्तो शब्द र कुन थेगो राखेचाहिँ गीत चल्छ भन्ने हिसाबले व्यवसायीकरण गरेर गाउन थालिएको छ। यसकारण पनि मौलिक गीत संगीत उत्पादनमा कमी आएको हो।

गीत संगीत संकलनको बेला कस्ता दुःख चुनौती झेल्नुभयो?

त्यति बेला मुख्य समस्या भनेको बाटो–घाटोको थियो। अहिले जस्तो यातायातको सुविधा थिएन। लामो समयसम्म हिड्नुपर्ने हुन्थ्यो। म साथीहरूसँग विभिन्न चाडपर्वको बेला विभिन्न ठाउँमा कस्ता गीत संगीत गाइने रहेछन् भनेर घुम्दै हिँड्थें। साथीहरूको यात्रा धार्मिक आस्था तथा रमाइलो गर्ने उद्देश्य हुन्थ्यो भने मेरो भित्री उद्देश्यचाहिँ त्यहाँकस्ता गीत गाइने रहेछन्, त्यहाँको परिवेश बुझ्ने र गीत संगीत संकलन गर्ने हुन्थ्यो। त्यो क्रममा माघे संक्रान्तिमा देवघाट, रिडी, चैते दशैंमा लमजुङ, बाला चर्तुदशीको बेला बाग्लुङ गलेश्वरलगायतका ठाउँमा लाग्ने मेलामा घुम्दै हिँड्थे।

यात्राका क्रममा बस्ने खाने, बाटा–ेघाटो आदि विभिन्न दुःख चुनाैती झेल्नुपथ्र्यो। बाग्लुङ जाँदा पोखरादेखि नै हिँडेर जानु पथ्र्यो। त्यसरी, संकलन गरेर मैलै व्यक्तिगतरूपमा हालसम्म ८४ एलबम, ६ सीडी तथा १० भीसीडी ल्याएको छु। मैले खासै अरुको एल्बममा गाएको छैन। यति धेरै एल्बम ल्याउने व्यक्ति मै नै हो। पहिलो लोक दोहोरी एलबम खोलापारी निरमाया, पहिलो तीज गीतको एल्बम दीदीबहीनी, पहिलो खैजडी भजनको एलबम खैजडी, पहिलो देउसी भैलोको एलबम देउसीभैलो, पहिलो नौमती बाजाको एलबम नरोउ नरोउ हे दुलही नानीजस्ता एलबम मैले ल्याएको हुँ। प्रयः जस्तो गीतहरू म र श्रीमती शिवा आलेमगर भएर गाउँदै आइरहेको छौँ।

ती दुःखलाई बिर्साउने दिन पनि अनुभव गर्नुभयो होला नि?

हो, आफूले संंकलन गरेका गीत रेडियोमा रेकर्ड भएर बज्न थालेपछि छुट्टै किसिमको आनन्द हुन्थ्यो। संकलन गरेका गीत रेडियो नेपालमा ल्याएर रेकर्डिङ गरिन्थ्यो। तर, त्यतिबेला लोक गीत गाउनेलाई पारीश्रमीक दिइँदैनथ्यो । आधुनिक गीतलाई मात्र पारिश्रमिक दिइन्थ्यो। अहिले जस्तो हेर्ने जमाना होइन, सुन्ने जमाना भएकाले रेडियोमा गीत बजे पनि अनुहार कसैले चिन्दैनथे। मानिसले मेरो गीत र नाम सुुनेका हुन्थे, तर भेट हुँदा चिन्दैनथे। नाम भनेपछि तपाई फलानो गीतको गायक होइन? भनेर सोध्दा आफ्नो पहिचान बनेकोमा सन्तुष्टि महसुस हुन्थ्यो।

लोक गीत अहिले पनि त्यही तरिकाले संकलन हुन्छन् त ?

अहिले त्यसरी गीत संगीत संकलन गरिँदैन। अहिले पनि स्थान विशेषमा विभिन्न गीत गाइन्छ, तर त्यो एकदम कम मात्रामा। स्रोत नै सकिएको चाहिँ छैन। तर, हामी अल्छी बन्दै गएका छौँ। अहिले सञ्चारमाध्यमका कारण पनि जे बज्यो त्यही सुन्ने आफ्नो ठाउँका गीत संगीतचाहिँ  खोजी नगर्ने चलन छ। मैले संकलन गरेका त्यस्ता केही गीत छन्, जुन केही समयपछि बाहिर ल्याउँदै छु।

मौलिक गीत–संगीत संरक्षण तथा संकलनमा राज्यको सहयोग छ त ?

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलगायत सरकारी निकाय छन्। आफ्नै तवरले काम गरिरहेका पनि छन। तर, व्यक्तिगत रूपमा हामीसमक्ष गीत–संगीत संकलनमा, संरक्षणमा हामी सहयोग गर्छौं, यसरी काम गर्नुस् भनेको चाहिँ छैन। हौसला बढाउने खालको कार्यक्रम पनि भएका छैनन्। कलाकारले पाउने भनेको पुरस्कार र तक्मा हो, त्यसमा पनि राजनीतीकरण, बेथिति र विकृति छ। राज्य पक्षबाट पाउने पुरस्कारसमेत असली कलाकर्मीले भन्दा पनि पहुँचवालाले पाइरहेका छन्। मेला महोत्सवमा पनि ठेक्कापट्टा हुने रहेछ। आयोजकले ठेकेदारलाई कलाकारको जिम्मा दिने रहेछ र कसलाई लैजाँदा सस्तो पर्छ। त्यसअनुुसार कलाकार लाने चलन रहेछ।

अहिलेका पुस्ता पानको पात, देवी देउरालीलगायत तपाईंका चर्चित गीत संगीतबारे जानकार छन्?

अहिलेका पुस्ता त्यस्ता गीतप्रति अनभिज्ञ छन् कि भन्ने लागेर ती २०/२२ गीतलाई लय नबिगारिकन फेरि रेकर्ड गरेर ल्याउने विचारमा छु। नेपालकै पहिलो लोक दोहोरी एल्बम खोलापारी निरमाया ल्याएको थिएँ। त्यो बेलामा किनै लोकप्रियता कमाएको उक्त गीत सात वर्ष अघि पुनः रेकर्ड गरेर ल्याएको थिएँ। त्यस्तै अर्को लोकप्रिय गीत देवी देउरालीको पनि भिडियो बनाउन टिम लिएर गएको थिएँ। बाटोमा क्यामेरा बिग्रिएर फर्किएर आउनुप-यो। त्यो गीत फेरि ल्याउने धोको छ।

भोलिको पुस्ताले नेपाली मौलिक गीत संगीत भनेको यस्तै हो भनेर चिन्ने बुझ्ने सम्भावना कतिको छ ?

सम्भावना भनेको राज्यका संरचनाले बनाइदिनुपर्छ। अहिले विभिन्न विद्यालयले साना नानीबाबुलाई दौरा सुरुवाल, गुन्यू–चोली लगाइदिएर नृत्य गराएर केही हदसम्म हाम्रो भेषभूषा, संस्कृति, गीत नृत्यबारे सिकाइरहेको छ। त्यस्तै, सानैदेखि विद्यालयका कोर्समा हाम्रो गीत–संगीत, बाजागाजा, भेषभूषाबारे सिकाउन सकियो भने भोलिको पुस्ताले पनि मौलीक गीत–संगीत संस्कृतिबारे बुझ्छ।

नेपाली मौलिक गीत–संगीत अन्तर्राष्ट्रिय स्तरमा किन अझै परिचित हुन नसकेको होला ?

नेपाली लोक गीत–संगीतले पनि अन्तर्राष्ट्रिय स्तरमा राम्रो चर्चा पाएका छन्। जापानमा गयाैँ भने रेशम फिरिरी निकै चर्चित छ। पानको पात विदेशीले नगाएको गीत होइन। त्यस्तै, वारी जमुना पारी जमुना, सिमसिमे पानीमाजस्ता गीतहरू विदेशीमाझ लोकप्रिय छन्। अन्तर्राष्ट्रिस्तरमा गीत संगीत परिचित गराउन हामीले आफ्नो मौलिक कुराको प्रवद्र्धनमा जोड दिई संगीतको स्तर बढाउनुपर्छ। विभिन्न देशमा भएका नेपाली दूतावासबाट हुने कार्यक्रममा सरकारको तर्फबाट हाम्रो मौलिक संस्कृति प्रवद्र्धन हुने खालका कार्यक्रम हुन सकेका छैनन्। भए पनि ती देशमा बस्ने नजिकका र उतै सिकेकाले खात्रकखुत्रुक गरेर सकाउने गरिन्छ।

अहिले भाइरलको जमाना छ तपाईंजस्ता गायक गायिकालाई यसले कस्तो असर गरेको छ ?

भाइरल हुनेहरू झट्ट हेर्दा बिकाउ हुन्छन्, तर टिकाउ हुँदैनन्। केही दिनको लागि हो। पहिले पहिले पप गीत आउँदा अब दोहोरी सकियो भनेर तर्सिने गायक–गायिका पनि थिए। पछि पप गीतको पनि लोकप्रियता घ्टयो। किनभने पप गीत हाम्रो होइन, त्यसको स्रोत छैन। हाम्रो मौलिक लोक दोहोरी गीत भनेको आफ्नै हुन् र यसको स्रोत छ। लोक भनेको हिमनदी जस्तै हो। वर्षामा पनि बगिरहन्छ, हिउँदमा पनि पग्लिएर झरिरहन्छ। त्यो हाम्रो स्रोत हो।

पहिले पहिले गायन, नृत्य, वाद्यवादन, संगीत आदि विधामा कला भएकालाई मात्र कलाकार भनिन्थ्यो। अहिले त को साँच्चै कलाकार हुन्, को होइनन् भन्ने कुरामा विवाद छ। कला भए पनि नभए पनि भाइरल भयो भने त्यो कलाकार भइहाल्छ। सचिन परियार भन्ने भाइ एकपटक भाइरल भए। तर, अहिले उस्को अवस्था के छ भन्ने सबैलाई थाहै छ। नायक राजेश हमाल पनि भाइरलको भ्रममा पर्नुभयो। भाइरल भएकालाई राख्यो भने चल्छ भनेर सचिन र उहाँलाई सँगै नचाइयो। सँगै खेल्न नहुने होइन। तर, त्यति लामो समय काम गरेर अनुभव बटुलेर आएको कलाकार भाइरल कलाकारसँगै नाच्दा सुहायो कि सुहाएन भन्ने कुरा बुझ्नुपर्ने हो।

पहिले र अहिले कलाकारहरूको आर्थिक अवस्था के छ ?

पहिले आफ्नो लगानी हुँदैनथ्यो। पछि क्यासेटको जमाना आएपछि म्युजिक नेपालले उस्कै खर्चमा गीत रेकर्ड गराइदिन्थ्यो। ती गीत तथा क्यासेटको रोयल्टी दिने गथ्र्यो। अहिले अरूको गीतमा लगानी गरिदिने अवस्था छैन। अहिले आफ्नो गीतमा आफैं लगानी गरेर निकाल्नुपर्ने अवस्था छ। त्यसमा पनि युट्युबमा राम्रो भ्युज गयो भने कमाइ हुन्छ नभए हुँदैन।

प्रतिक्रिया दिनुहोस्