सिन्धुलीका दुई गम्भीर घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं पठाइयो

0
Shares

सिन्धुली।

सिन्धुलीमा आइतबार भएको सवारी दुर्घटनाबाट र घरको छातबाट खसेर गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । दुधौली नगरपालिका ३ नेपानेटारमा मोटरसाईकल र स्कुटर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा गम्भीर घाईते भएकी दुधौली नगरपालिका ३ मिलनचोककी रेखा बराल घिमिरे र कमलामाई नगरपालिका ६ रातमाटामा घरको छतबाट खसेर गम्भीर घाईते भएका ३ बर्षका बालक सुबप थापालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो ।

दुधौली नगरपालिका ३ को झुँगा– धनसरी भित्री सडक खण्ड अन्तर्गत नेपानेटारमा बा४३प ७२९७ नम्बरको मोटरसाईकल र प्रदेश २–००२ प ३९१० नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुदाँ स्कुटर चालक रेखा बराल घिमिरे गम्भीर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मोटरसाईकल चालक दुधोली नगरपालिकाकै २२ बर्षका उज्ज्वल कुमर सामान्य घाईते भएका छन् । घाईते कुमरको स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

त्यस्तै कमलामाई नगरपालिका १ का पवन थापाको ३ बर्षका छोरा सुबप थापा कनपा ६ रातमाटामा रहेको आफ्नै घरको छतबाट खसेर गम्भीर घाईते भएका प्रहरी नायव उपरिक्षक केसीले बताउनुभयो । घाईते बालकको टाउकोमा चोट र घाटी भाचिएको प्रहरी उपरिक्षक केसीले बताउनुभएको छ ।