कतार विश्वकप मंसिर ४ गतेदेखि

0
Shares

काठमाडौं । 

कतारमा यही वर्ष जाडोयाममा हुने फिफा विश्वकपको खेलतालिका एक दिनअघि सारिएको छ । फिफाले २१ नोभेम्बरको सट्टा २० नोभेम्बरदेखि विश्वकप शुरु गर्ने निर्णय गरेको हो । यो निर्णय फिफाले कतारको आवेदनमा लिएको हो ।

नेपाली मितिअनुसार प्रतियोगिता मंसिर ४ गतेदेखि शुरु हुनेछ र पुष ३ गते समापन हुनेछ । पहिलो दिन समूह ‘ए’ अन्तर्गत आयोजक राष्ट्र कतारको सामना इक्वेडरविरुद्ध हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुकी ९ः४५ बजे हुने जनाइएको छ । फिफाको यो निर्णयपछि समर्थक, प्रशारक र विज्ञापन कम्पनीहरूलार्ई समस्या भएको छ । समर्थकले कतारको लागि उडान र होटेल बुक गरिसकेका छन् । खेलका लागि टिकट पनि किनिसकेका छन् ।

अब, उनीहरूलाई यो सबै परिवर्तन गर्नुपरेको छ । उनीहरूलाई समस्या पनि भएको छ । त्यस्तै कम्पनीहरूले धेरै रकममा विज्ञापनको लागि स्थान किनेका थिए । त्यसमा पनि परिवर्तन गर्नुपरेको छ । अहिलेदेखि बनाएको योजनामा परिवर्तन गर्नुपर्दा केही नोक्सानी पनि हुन कम्पनीहरूले बताए ।

एक लिकर कम्पनी जुन फिफाको सबैभन्दा ठूलो साझेदारमध्ये एक हो । यस कम्पनीसँग कतार अधिकारीहरूको कुनै सम्झौता भएको छैन । साथै कतार जस्तो सानो देश फिफा विश्वकप आयोजना व्यवस्थित ढंगले गर्न सक्नेमा पनि शंका गरिरहेको छ । कतार फिफा विश्वकप आयोजना गर्नेमा अहिलेसम्मकै सानो देश हो ।

यो प्रतियोगिता फुटबलको महाकुम्भ मेला पनि हो । यसैले विभिन्न देशबाट धेरै संख्यामा समर्थक खेल हेर्न आउनेछन् । यति धेरै संख्या सम्हाल्नको लागि कतारले कयौं देशका सुरक्षाकर्मीसँग सम्झौता पनि गरेको छ । टर्कीले प्रतियोगिताका लागि ३ हजार सुरक्षा बल दिने वचन दिइसक्यो ।

उनीहरूको काम केवल समर्थकको सुरक्षा गर्ने र कानुन व्यवस्था बनाइराख्ने हो । ३२ टोली सहभागिता हुने प्रतियोगिताको प्रसारण १ सय ५० भन्दा बढी देशमा हुने पनि जनाएको छ । टिभी प्रसारण हेर्ने दर्शकको लागि त समस्या भएन । तर, कतारमै हेर्ने दर्शकको लागि भने समस्या उत्पन्न हुने बताइएको छ । समर्थकले कुन स्थानमा खेल हेर्ने भनेर खोज्न नै समस्या हुनेछ । फिफाको कारण त्यहाँको होटलको भाडा पनि धेरै बढेको छ । कतार अधिकारीले बताए-समर्थकद्वारा जुन खेलको टिकट लिएको हो, त्यही खेल हेर्न पाउनेछन् ।

इटाली छैन

यस पटकको फिफा विश्वकपमा उपाधि विजेता टोलीमध्ये इटाली हुनेछैन । इटाली गत २०१८ को विश्वकपमा पनि छनोट भएको थिएन । इटालीले १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप ट्रफी उचालेको थियो । विश्वकप उपाधि जितेका अन्य टोलीहरू भने यस विश्वकपमा छनोट भएका छन् । जसमा पाँच पटकको विजेता टोली ब्राजिलसहित जर्मनी, अर्जेन्टिना, फ्रान्स, स्पेन, इंग्ल्यान्ड र उरुग्वे रहेका छन् । अहिलेसम्म विश्वकप उपाधि ८ टोलीले मात्रै जितेको छ ।

खेलतालिका दिन

समूह चरण: मंसिर ४ देखि १६ गतेसम्म
अन्तिम १६:मंसिर १७ देखि २० गतेसम्म
क्वार्टरफाइनल: मंसिर २३ र २४ गते
सेमिफाइनल: मंसिर २७ र २८ गते
तेस्रो स्थान: पुष २ गते
फाइनलः पुष ३ गते