कुहिने फोहरको व्यवस्थापन गर्ने स्थानको समस्या

0
Shares

काठमाडौं  ।

लामो समयदेखि चर्चामा रहेको तर कार्यान्वयनमा आउन नसकेको काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहरको व्यवस्थापन गर्ने स्थान अझै पहिचान हुन सकेको छैन ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने फोहर ब्यवस्थापन गर्ने घोषणा गरेपनि त्यो स्थान अहिलेसम्म पहिचान हुन नसक्दा राजधानीवासीले छुट्याएको कुहिने फोहोर अहिले अलपत्र परेको छ ।

कुहिने फोहोर ब्यवस्थापनका लागि सम्भावित ५ स्थान पहिचान गरे पनि स्थानीय सकारात्मक नहुंदा प्रकृया अगाडि बढ्न सकेको छैन । कामपाका प्रमुख साहको सचिवालय सदस्य सुनील लम्सालले अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि १ सय ५० रोपनी जग्गाको पहिचान भए पनि स्थानीय सकारात्मक नहुंदा कार्यान्वयन हुन नसकेको जानकारी दिनुभयो । उनीहरुलाई कुहिने फोहरबाट मल उत्पादन गर्दा हुने फाइदा र त्यसको सकारात्मक पक्षका बारेमा जानकारी दिन आवश्यक रहेको लम्सालले बताउनुभयो ।

स्थानीय सकारात्मक नभएकै कारण गत साउन अन्तिम सातादेखि कीर्तिपुरमा केही कुहिने फोहर व्यवस्थापन गर्ने भने पनि काम सुरु हुन नसकेको कामपाले जनाएको छ । तीन महिनापछि हानिकारक फोहोर बञ्चरेडाँडामा नफाल्ने गरी कार्य अघि बढाइएको कामपाको दाबी छ ।

दुई महिनादेखि विसर्जन हुन नसकेको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साबिकबमोजिम फोहर व्यवस्थापन हुन थालेको छ ।

पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समयसमयमा अवरोध गर्दै गर्दा काठमाडौँमा फोहरको डङगुर थुप्रने गरेको छ । यसरी स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता पनि दीर्घकालीन नभएको भन्दै कामपाले अन्य स्थानमा पनि फोहर व्यवस्थापन गर्न स्थान पहिचानको काम जारी राखेको जनाएको छ ।

साबिकबमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा यसअघि थुप्रिएको सबै फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लग्ने कामपाको योजना छ । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।