गृहजिल्लामै गठबन्धन गरेर चुनाव जित्ने देउवाको दाउ

खगराजलाई मुख्यमन्त्रीको आश्वासन, बढारिए कांग्रेस सभापति साउँद, डा. जोशीलाई उम्मेदवार बनाउन लबिङ

0
Shares

डडेल्धुरा । 

गृह जिल्ला डडेल्धुरामा पार्टीभित्रको विभाजनका कारण सन्त्रस्त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा होमिने तयारी थाल्नुभएको छ ।

प्रधानमन्त्री देउवाकै कारण डडेल्धुरामा सत्तारुढ राजनीतिक दलहरूबीच चुनावी गठबन्धन हुने पक्कापक्की भएको नेकपा (माओवादी) केन्द्रका नेताहरू बताउँछन् । २०४८ सालदेखि हालसम्म छपटक डडेल्धुराबाट निर्वाचित प्रधानमन्त्री देउवाविरुद्ध यसपटक नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी नदिने सहमति भइसकेको नेकपा (माओवादी) केन्द डडेल्धुराका नेताहरू बताउँछन् ।

देउवासँग तीनपटक (०६४, ०७० र ०७४) मा लगातार पराजित भएका माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट यसपटक देउवासँगै गठबन्धन गरेर प्रदेश सभा सदस्यका लागि निर्वाचनमा होमिने सहमति भएको नेकपा (माओवादी केन्द्र) का एक केन्द्रीय सदस्यले बताउनुभयो । यसअघि ०६४ मा झिनो मतान्तरले प्रधानमन्त्री देउवासँग पराजित हुनुभएका भट्ट त्यसपछिका चुनावमा भने फराकिलो मतान्तरले पराजित हुनुभएको थियो ।

शहीद परिवारका सदस्यसमेत रहनुभएका नेता भट्ट यसपटक प्रदेशको मुख्यमन्त्री बन्ने तयारीमा लाग्नुभएको हो । शुरूमा प्रतिनिधि सभा सदस्यको तयारी गरेर निर्वाचनमा होमिने बनाउँदै आउनुभएका भट्ट संघीय सांसद बने पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगर मन्त्री बन्ने अवस्था देखिएकाले प्रदेशमा झर्नु भएको भट्ट निकटस्थ नेताहरू बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा हाल माओवादी केन्द्रभित्र मगर र भट्टले नेतृत्व गरिराख्नुभएका अलग अलग गुट सक्रिय रहेका छन् । जनयुद्धको सुरुआती चरणदेखि तत्कालीन माओवादीको नेतृत्व गरेका भट्ट माओवादी केन्द्रमा लेखराज भट्टपछि वरीयतामा दोस्रो नम्बरमा हुनुहुन्थ्यो । हाल लेखराज एमाले केन्द्रीय सचिव रहनु भएकाले भट्टलाई माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाएको हो ।

नेता भट्टले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धन हुँदा पनि देउवासँग छ हजार ९ सय ४८ मतले हारेका थिए । ०७४ को चुनावमा देउवाले २८ हजार ४ र सय ४६ र भट्टले २१ हजार ४ सय ९८ मत ल्याएका थिए । माओवादी केन्द्रको समर्थनमा यसपटक देउवा प्रधानमन्त्री बन्ने र मुख्यमन्त्रीमा भट्टलाई सघाउने सहमति भइसकेको माओवादी केन्द्रका नेताहरूको दाबी छ । प्रधानमन्त्री देउवाले भट्टलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने वचन दिइसकेकाले भट्टले डडेल्धुराको प्रदेश ‘क’ बाट प्रदेश सभा सदस्यमा प्रतिस्प्रर्धा गर्ने नेकपा (माओवादी केन्द्र डडेल्धुराले जनाएको छ ।

हाल लामो समयदेखि राजधानीमा रहनुभएका माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज भट्टले आफू डडेल्धुराको प्रदेश ‘क’ बाट निर्वाचनमा उम्मेदवार बन्ने बताउनुभयो । उहाँले त्यसका लागि प्रधानमन्त्रीसँग छलफल भइसकेको जानकारी दिनुभयो । भट्टसँगै गठबन्धन गरेर डडेल्धुराको प्रदेश ‘क’ बाट निर्वाचित नेकपा (एमाले) का पठानसिंह बोहरा हाल प्रदेश सभा सदस्य हुनुहुन्छ । बोहरा यसअघि प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बन्नुभएको थियो ।

यसअघि सम्पन्न प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार बोहराले १३ हजार ५ सय ६३ र नेपाली कांग्रेसका उम्मेदवार रघुवर भट्टले ११ हजार ३ सय ९४ मत प्राप्त गर्नुभएको थियो । जिल्लास्तरमा चुनावी गठबन्धन हुने भएपछि नेपाली कांग्रेसका तर्फबाट प्रदेश ‘क’ बाट चुनावी प्रतिष्पर्धा गर्ने तीव्र तयारीमा रहनुभएका नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउद चुनावी प्रतिस्पर्धाबाट बाहिरिने पक्का भएको छ ।

जिल्लाकै भोट बैंक मानिने भित्री मधेस क्षेत्रको परशुराम नगरपालिकाका निवर्तमान नगरप्रमुख रहेका साउद गठबन्धनका कारण चुनावी प्रतिस्पर्धाबाट आउट हुने अवस्था आएमा हाल बलियो बन्दै गरेको नेपाली कांग्रेसको संगठनमा क्षति पुग्ने स्थानीय नेता कार्यकर्ताको गुनासो छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा नेपाली कांग्रेसले उम्मेदवारीमा दाबी गरिरहेको छ ।

यसअघिको निर्वाचनमा सो क्षेत्रबाट प्रदेश सभा सदस्यमा झिनो मतले पराजित डा. तारा जोशीलाई नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवार बनाउन सत्तारुढ पाँच दलीय गठबन्धनभित्र तीव्र लबिङ भइरहेको नेकपा (समाजवादी) डडेल्धुराका इन्चार्ज नरबहादुर विष्टले बताउनुभयो ।

डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो र माओवादी केन्द्र दोस्रो स्थानमा छ । दुई नगरपालिका र पाँच गाउँपालिका गरी कुल सात स्थानीय तह रहेको डडेल्धुरामा कांग्रेस एक्लैले पाँच र दुई स्थानीय तह माओवादीले जितेको छ । नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनका क्रममा प्रधानमन्त्री देउवाले विधानविपरीत सदस्यता वितरण गरेर साउदलाई सभापति बनाउन भूमिका खेल्नुभएको थियो ।

पार्टी सभापति देउवाले विधानविपरीत क्रियाशील सदस्यता वितरणमा मनोमानी गरेको भन्दै नेपाली कांग्रेस डडेल्धुराका तत्कालीन सभापति कर्णबहादुर मल्लले विद्रोह गर्दै नेपाली कांग्रेस (बिपी) मा समाहित हुनुभएको छ । मल्लको नेतृत्वमा हजारौं नेता कार्यकर्ता नेपाली कांग्रेस बिपीमा समाहित भएकाले जिल्लामा पार्टी कमजोर भएकाले चुनौती महसुस गर्दै प्रधानमन्त्री देउवाले गृह जिलामा सत्तारुढ राजनीतिक दलहरूसँग गठबन्धन गरेर चुनाव जित्ने रणनीति बनाएको निकटस्थहरू बताउँछन् ।

हाल नेपाली कांग्रेस (बिपी) केन्द्रीय समितिका वरिष्ठ उपसभापति रहेका मल्लले प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्री देउवासँग प्रतिस्प्रर्धा गर्ने घोषणा गरिससक्नुभएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा एमालेसँग चुनावी गठबन्धन गरेर प्रतिस्प्रर्धा गरेको नेपाली कांग्रेस (बिपी) ले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समेत एमालेसँगै गठबन्धन गर्ने तयारी गरिरहेको जनाएको छ ।