६९ लाख रकमसहित तीन पक्राउ

0
Shares

काठमाडौं  ।

नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित काठमाडौं मनमैजुका माधव श्रेष्ठ, बारा घर भई काठमाडौंको कुलेश्वर बस्ने सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाडौंको टेकु बस्ने अंकित गोयन्कालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले गैरकानुनी रूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आएका उनीहरूलाई काठमाडौंको घण्टाघर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो । काठमाडौं महानगरपालिका–२८ घण्टाघरस्थित जामे मार्केट भवनमा सटर भाडामा लिई श्रेष्ठले सञ्चालन गरेको सन्जोग टुर्स एन्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको रकम र हुण्डीको भुक्तानी गर्न आएका अंकित गोयन्काका कर्मचारी साह र गोयन्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले गोयन्काले कलङ्कीमा सञ्चालन गरेको आनी इन्टरनेसनलको कार्यालयबाट थप नौ लाख बरामद गरेको छ । यस्तै, फास्ट ट्रयाक इन्टरनेसनल प्रालिको नाममा काटिएको सानिमा बैंकको १५ लाख बराबरको चेकसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको सूचना अधिकृत कोइरालाले बताउनुभयो ।