राष्ट्रपतिबाट सुझावसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित

0
Shares

काठमाडौं   ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुझावसहित पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित गरेको छ ।

प्रतिनिधिसभामा बिहीबार छलफलपछि भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रूपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १ सय ३५ मत र विपक्षमा ६० मत परेको थियो ।सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा उपस्थित १ सय ९५ मध्ये नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ विधेयक पारित गर्ने पक्षमा १ सय ३५ र विपक्षमा ६० सांसदले मत दिएको जानकारी दिँदै नागरिकता विधेयक पारित भएको घोषणा गर्नुभयो । सरकारले विधेयक जस्ताको तस्तै पारित गर्ने बताएपछि सभामुख अग्नि सापकोटाले विधेयकमाथिको छलफल र मत विभाजन प्रक्रिया अघि बढाउनुभएको थियो ।

विधेयक पारित भएसँगै यो विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपतिसमक्ष पुग्नेछ । संविधानको धारा ११३ मा दोस्रो पटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नेपर्ने व्यवस्था छ । यसअघि प्रतिनिधिसभाले पहिलो पटक ध्वनि मतद्वारा नागरिकता विधेयक पारित गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले राष्ट्रपतिले फिर्ता पठाएको विधेयकमा राष्ट्रिय सहमति गरेर वा प्रतिनिधिसभाको समितिमा पठाएर पुनर्विचार गर्नुपर्ने धारणा राखेको थियो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक पारित गर्ने क्रममा ध्वनि मत नमान्ने जिकिर गर्दै मत विभाजनको माग गर्नुभएको थियो ।

यसअघि विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई सहमति जुट्न सकेन भनेर रोक्न नसकिने बताउनुभएको थियो । उहाँले नागरिकता विधेयक रोकिए पनि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकतामा ७ वर्षे प्रावधान तत्काल लागु गर्न नसकिने पनि बताउनुभएको थियो ।

विधेयकमाथिको छलफलका क्रममा सत्ता गठबन्धनकै २ जना सांसद नेपाली कांग्रेसकी पार्वता डीसी चौधरी र नेकपा एकीकृत समाजवादीकी निरादेवी जैरुले नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्न नहुनेमा जोड दिँदै उक्त विधेयकले नेपालको दीर्घकालीन हित नगर्ने धारणा राख्नुभएको थियो । उहाँहरूले राष्ट्रभन्दा पार्टी ठूलो नभएको भन्दै पार्टीभन्दा माथि उठेर राष्ट्र र मुलुकका लागि बोल्न आग्रह गर्नुभएको थियो ।