काठमाडौंमा मनाइयो ७६ औं भारतीय स्वतन्त्रता दिवस


काठमाडौं ।

काठमाडौँस्थित भारतीय दूतावासमा भारतको ७६ औं स्वतन्त्रता दिवस मनाइएको छ । भारतीय दूतावासका काउन्सिलर श्री प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर सोमबार कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । तत्पश्चात उहाँले भारतीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गर्नुभएको सम्बोधन पढेर सुनाउनुभयो ।

सो अवसरमा श्रीवास्तवले सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई नेरु २.६५ करोड प्रदान गरी सम्मान गर्नुभयो ।

सोही अवसरमा आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कृत गरिएको दूतावासले जनाएको छ ।

भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा यो कार्यक्रम मनाइएको दूतावासले जनाएको छ ।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका शिक्षक तथा विद्यार्थीद्वारा देशभक्ति गीत लगायतका प्रस्तुति प्रस्तुत गरिएको थियो।

कार्यक्रमको प्रत्यक्ष प्रसारण दूतावासको फेसबुक पेजमार्फत गरिएको थियो।