साउनको तेस्रो हप्ता नेपाली पत्रपत्रिकामा दलितहरूको नाम बिगार्दै नागरिकता प्रमाणपत्र बनाइदिएकामा नाम बिगारिदिनेहरूप्रति कटाक्ष गर्दै राष्ट्रिय बहस शुभारम्भ भयो ।
पश्चिम नेपालमा बसोबास गर्ने दलितहरूको नाम बिगारेर केही व्यक्तिलाई नागरिकता दिँदा ‘कुकुर कामी, कुकुर्नी कामी, फ्याउरो दमाईं, कुत्ता कामी’ जस्ता अशोभनीय लाग्ने नामहरू लेखेर विशेषतः दलित जातिलाई जातीय अपमान गरेको भन्दै राष्ट्रिय दलित आयोगले गम्भीर आपत्ति जनायो । हिजो कसले र के नियत राखेर त्यस्ता नामहरू नागरिकतामा राखिदिए, ती खोजीका विषय हुन् ।
नेपालमा नागरिकता वितरण गर्ने मुख्य अधिकार जिल्ला प्रशासन कार्यालय या इप्रकाका अख्तियार प्राप्त अधिकारीहरू क्रमशः प्रजिअ, सहायक प्रजिअ र कानुनले तोकिदिएका प्रशासकीय अधिकृतहरूलाई मात्र छ । बेलाबेला नागरिकता वितरण टोली गठन गरेर जनताका घरदैलामा पुगी सुलभ ढङ्गले नागरिकता दिइएका समाचारहरू सञ्चार माध्यममा पढ्न पाइन्छन् । उमेर पुगेको नेपालीले नागरिकता लिन वडा कार्यालयहरूबाट तोकिएका फर्मेटमा नियमानुसार सिफारिस लिनुपर्छ ।
विद्यार्थीका हकमा नियमित अध्ययनरत स्कुल-कलेजबाट नाम, थर, वतन र जन्ममिति खुलाएर सिफारिस लिनुपर्दछ । त्यसरी लिइएका सिफारिसमा व्यक्तिले उसको नाम, थर, वतन र जन्ममिति पछिसम्म फरक नपर्ने गरी सिफारिस बनाएपछि मात्रै जिप्रका वा इप्रकाले नागरिकता दिन्छ । यही कार्यविधि नेपालमा प्रचलनमा छ ।काठमाडौँमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले नागरिकतामा देखिएको विभेदले नागरिकता लिने व्यक्तिलाई मात्र नभएर त्यसको असर तिनका पुस्तौंपुस्तासम्म पर्ने उल्लेख गरे ।
उनले भने, ‘नागरिकतामा अपमानजनक शब्द राख्नु राम्रो होइन ।’ आयोगले नागरिकतामा राखिएको थर सच्याउनका लागि संशोधनको कुरा उठाउँदै आयो । सो कार्यक्रममा सांसद अञ्जना विसङ्खे, भुवन सुनार र सामाजिक अभियन्ता प्रदीप परियारलगायतले दलित मुद्दामा राज्य गम्भीर हुनुपर्ने बताए । आयोगले ‘नागरिकतामा अपमानित नाम राख्ने व्यक्तिलाई कारबाही हुनुपर्छ’ भनेको छ ।
सरल भाषामा भन्दा नाम चिनारीको माध्यम हो । नामले वस्तुको अकारप्रकार, रूप, बान्की र आकृति याद दिलाउँछ । त्यसैले नाममा धेरै जोड दिन्छन् मान्छेहरू । यहाँ नाम भनेर मानिसको नाम भनिएको हो । हिजोका नाम र आजका नाममा आकाश–जमिनको अन्तर छ । हिजो धर्मशास्त्र, देवी÷देवता, धार्मिक पात्र र तीर्थस्थलबाट समेत मानिसहरूले नाम राख्थे । समाजमा आधुनिकता भित्रिन थालेपछि मानिसहरूले यो परम्परा छाडेका हुन् । हिजोका दिन राम, सीता, गीता, विष्णु, शिव, हरि, महेश, भगवती, भगवान्, शङ्कर, भोलाजस्ता नामहरू राखिन्थे ।
करिब तीन दशकअघि बीबीसी हिन्दी सेवाले भारतमा गरेको एक अनुसन्धानमा भगवानका नाम राखेका मानिसहरू भारतमा ४०-५० लाख दरमा पाइए । अचम्मको कुरा धार्मिक नामहरू हुने मानिसहरू र आधुनिक नाम हुने मानिसबीच तुलना गर्दा सापेक्षतामा अपराध कर्महरूसमेत धार्मिक नाम भएकाहरूबाट कमै भएको पाइयो । यसले मानिसहरूको देवीदेवताप्रतिको सम्मान र सामाजिक रूपमा व्यक्तिको नामको प्रतिष्ठालाई देखाउँछ ।
कतिपय अवस्थामा मानिसले उसको नामबाट दुःख र कतिपय अवस्थामा सुख पाएका घटनाहरू समाजमा भेटिन्छन् । वि.सं. २००७ मा जन्मेको छोराको नाम त्यस बेला जल्दोबल्दो नेपाली कांग्रेस पार्टीको नाम झल्कने गरी ‘कांग्रेस’ राखेबापत सुनसरी खनारका एकजना चौधरीले बाँचुन्जेल दुःख पाए । संवत् २०४६ सालअघि गाउँमा राजनीतिक घटना वा झैझगडा हुँदा पुलिसले गाउँ पसेर कसैलाई सोधखोज नगरी सरासर उनैलाई पक्रेर लैजान्थ्यो रे ! पछि उनी मालपोतमा जग्गा पास गर्न धाउँदा आफ्ना कानुन व्यवसायीहरूलाई कुराकानीका प्रसङ्ग झिकेर हँसाउँथे ।
वि.सं.को तीसको दशकमा सुनसरी चाँदबेला गाउँमा एकजना कांग्रेसी कार्यकर्ता थिए । जसको नाम विष्णुप्रसाद कोइराला थियो । नेपाली कांग्रेस प्रतिबन्धित भएका बेलामा गाउँघरमा सानोतिनो राजनीतिक भेला, गोष्ठी र प्रशिक्षणहरू राख्नुप¥यो भने उनकै नाम छोटकरीमा राखेर साधारण सदस्य र कार्यकर्ताहरूलाई पूरा समय बसाउने गरिन्थ्यो रे ! उद्घोषकले जब उनको छोटकरी नाम लिएर ‘अब आउँदै हुनुहुन्छ बीपी कोइराला’ भन्थे सबै सहभागीहरू ठाडा कान बनाएर भाषण गर्न आउने मानिसलाई आँखा तिखार्दै हेर्दथे रे ! वक्ता जब नजिक आउँथे अनि सबै छक्क पर्थे । उनी महामानव बीपी नभएर गाउँकै साधारण कांग्रेसी कार्यकर्ता विष्णुप्रसाद कोइराला याने ‘बीपी कोइराला’ हुन्थे । यो चिटिङ शैली भयो । खैर ! त्यसरी पनि मानिस भुल्याउने ट्रिक रचिँदो रहेछ– ऊ जमानामा ।
मानिसका नाम दुई थरी हुन्छन्– सार्थक र असार्थक । यो लेखकले दुईवटा नामहरू सारै लाजमर्दो किसिमले लेखेको देख्या छ । संवत् २०५० सालमा शिक्षणका सिलसिलामा रामेछाप बस्दा स्थानीय हाइस्कुलमा क्षत्री जातका प्रधानाध्यापक थिए । हाइस्कुलका प्रायः सबै विषयहरू पढाउने उनी जातले क्षत्री भए तापनि उनलाई धर्मशास्त्र, दर्शन र कर्मकाण्डका अप्ठ्यारा गुत्थीहरू कण्ठाग्र आउँथे । यो लेखकले उनीसँग करिब डेढ वर्ष प्रत्यक्ष र बीस वर्ष अप्रत्यक्ष सङ्गत ग¥यो । ‘मास्टर’ भन्ने शब्दले ‘सबै कुरामा पारङ्गत’ भन्ने अर्थ राख्छ ।
उनकी पत्नी उनीजस्ती पढालेखा थिइनन् तर असाध्यै सांस्कारिक थिइन् । काम विशेषले नाम सोध्दा कहिल्यै बताउँदैनथिन्, पछि रहस्य लागेर खुट्खबर लिँदा उनको नाम ‘चुतकुमारी’ रहेछ, जसको अर्थ ‘मलद्वार’ हुन्छ । पण्डितले कस्तो लाजमर्दो नाम राखेका ? नागरिकतामा सोही नाम भएपछि ऊ जमानामा समेत सुधारका लागि सुझाव दिँदा ती प्रअ हाँसेर ‘भैगो–भैगो’ भन्थे ।
अर्को कुरा, काठमाडौंका एकजना वरिष्ठ कविले छोरीको साहित्यिक नाम राख्दा शब्दकोश नै नहेरीकन ‘अभिसारिका’ राखेछन् । पछि ‘अभिसारिका’ को अर्थ ‘वेश्या’ भन्ने चाल पाएपछि आफैँ लज्जित महसुस गरी छोटकरीमा ‘अभि’ बनाएथे रे ! मै हुँ भन्ने पढेलेखेका मानिससमेत कहिलेकाहीँ ‘ओभर स्मार्ट’ हुँदा धोती फुस्कन्छ भन्या यही हो ।
अङ्ग्रेजीमा चर्चित भनाइ छ, ‘ज्याक अफ अल, मास्टर अफ नन ।’ यहाँ ‘मास्टर’ शब्द जान्ने अर्थमा भनिएको हो । कुनै विषयमा डिग्री उत्तीर्ण गर्ने व्यक्तिलाई मास्टर भनिन्छ । समाजमा ‘मास्टर’ शब्द चल्तीका हिसाबले प्रायः तीन ठाउँमा प्रयोग हुन्छ । पहिलो अर्थमा– पढाउने-सिकाउने मास्टर, दोस्रो अर्थमा– कपडा सिलाउने याने टेलर मास्टर र तेस्रो अर्थमा– सर्कसमा बाघ÷भालु÷बाँदरजस्ता जनावरहरू खेलाएर चटक देखाउने रिङ मास्टर । जे–जे काम भए पनि तिनीहरू आफ्ना पेसामा अब्बल भन्ने अर्थ राख्छन् ।
आज पढेलेखेका मानिसहरू गाउँमा धेरै बस्छन् तर हिजोका जमानामा गाउँमा पढेका मानिस भन्या स्कुले मास्टर मात्रै हुन्थे । तिनीहरू हुलाकीले ल्याएका दुःखम्–सुखम् बेहोराका चिठी पढी–बाँची सुनाएर गाउँलेलाई गुन लगाउँथे । अहिले मास्टरका ठाउँमा कम्प्युटर प्रविधिले गुगल ल्यायो । कम्प्युटरमा भाँती पु¥याएर गुगल गर्न जानेको छ भने सबैथोक भेटिन्छन् । त्यसैले हामी जो प्रविधि प्रयोगमा पोख्त छौं अब गुगललाई ‘चौथो मास्टर’ भनेर नयाँ परिभाषा गर्ने बेला आइसक्यो । भनिन्छ– ‘संसारका कुनै परिभाषा अन्तिम हुँदैनन्, तिनीहरूलाई समयानुसार परिमार्जन गरिरहनुपर्छ । समय–समयका खेल हुन्– सबै विषयहरू । नामलाई यही अर्थमा स्वीकारे मात्र हाम्रा व्यवहार सरल रूपले चल्दछन् ।
नाम लेखाइमा व्यक्तिलाई छुट छ । घगडान् मानिसहरूले उनीहरूको नाम आफूखुशी लेख्दा केही त्रुटि भएका पाइन्छन् । प्रगतिशील लेखक प्रदीप नेपालजस्ता नामी लेखक नै ‘प्रदीप’ शब्दलाई ‘प्रदिप’ बनाएर लेख्छन् । त्यसै गरी नेपाली कांग्रेसका बौद्धिक नेता ‘प्रदीप गिरी’ समेत ‘प्रदीप’ शब्दको ‘द’ ह्रस्व (दि) लेख्छन् । हुनुपर्नेचाहिँ संस्कृतको ‘दीप’ शब्दमा ‘प्र’ उपसर्ग लागेर ‘प्रदीप’ बनेको हो तर नामका हकमा दिइएको छुट भनेर उहाँहरू दुवैले ‘प्रदिप नेपाल’ र ‘प्रदिप गिरी’ लेख्नुहुन्छ । यो उहाँहरूको स्वतन्त्रताको कुरा हो । यसमा धेरै बहस नगरौं ।
चालीसको दशकमा सुनसरीका एक किसानका घरमा एकजना हलो जोत्ने ‘हली’को नाम ‘सभापति’ र थर उराँव (झाँगड) थियो । उनलाई काम अराउने मालिकहरू ‘ए सभापति, हलो जोत्न जाऊ । ए सभापति आज औँसी हो, हलो जोत्नुहुँदैन । कोदालो लिएर खेतमा जाऊ । छेउकुना खनखान पार है !’ भन्ने आदेश दिन्थे । जुनसुकै उद्देश्यले राखिएको नाम भए पनि सो ‘सभापति’ नामले दिने सार्थक अर्थ र कामले दिने अर्थमा कसोकसो बेमेल पाइन्थ्यो । त्यसै गरी यो लेखक कलेज पढ्दाताका संवत् २०४१ सालतिर आईएको कक्षामा एकजना ‘बेरुजु शर्मा’ नामक साथी थिए । सरहरूले दैनिक हाजिर गर्दा भने उनको नाम उच्चारण भएको सुनेर साथीहरू गलल हाँस्ने गर्दथे । पछि कुरोको चुरो बुझी ल्याउँदा उनी लेखापाल बाउका छोरा रहेछन् । लेखापरीक्षण गर्दा बाबुलाई धेरै बेरुजु भएको वर्ष उनी जन्मेकाले उनका बाउले बोलाउने नाम नै ‘बेरुजु’ राखेछन् । धन्न न्वारानको नाम ‘वेदमणि’ रहेछ । कक्षा लिजर भएका बेलामा बेरुजु प्रसङ्ग मिलाएर हँसाउँथे ।
देशैभरि रहेका नमुना स्कुलहरूको भ्रमण गर्ने क्रममा एकपटक दोलखाको काब्रेस्थित हनुमन्तेश्वर माविमा हामी शिक्षक र विद्यार्थीहरू शैक्षिक भ्रमणमा जाँदा त्यहाँ एकजना स्पेनिस भोलेन्टियर स्कुलको चमेना गृह बनाउने काममा बेल्चाले बालुवा चाल्दै मसला बनाउन सहयोग गरिरहेका थिए । गोरो मानिस, कुइरा आँखा र कैलो कपाल देखेर परिचय माग्दा उनले अप्ठ्यारो गरी उनको नाम ‘जीतबहादुर कार्र्की’ भने । विश्वास नलागेर हेड सरलाई सोध्दा उनको नाम स्पेनिस भाषामा गाह्रो भएकाले र गाउँमा उनलाई घुलमिल हुन सजिलो होस् भनी आफूले गाउँले नाम नै ‘जीतबहादुर’ राखिदिएको बताए । सो सुनेर केही क्षण हाँसो गुन्जियो । हेडसरले भने, ‘नाम भनेको चिनारीसम्म हो । हामीले उनलाई नेपाली नाम दिँदा उनी औधी खुशी छन्, साथै गाउँलेलाई पनि उनीसँग कुराकानी गर्न र घुलमिल हुन नेपाली नामले सजिलो भएको छ ।’
नामका बारे कहिरन हालिएका उपर्युक्त कथाहरूले जे बताए पनि हिजो दलितहरूप्रति कथित उच्च जातले नागरिकता दिँदा गरेको अपराध अब क्षम्य छैन । समाज विकसित हुँदै जाँदा यस्ता कतिपय कुराहरूले चिमोट्छन् । अहिले दलित आयोग र दलित नेतृत्वले जुन कुरा राखेका छन्, ती मनासिब छन् । देश समृद्ध हुन चौतर्फीरूपमा माथि उठ्नुपर्छ भन्ने अभिमत दलितका नामका पक्षमा पेस गर्न सकिन्छ । अतः यो समस्याको शीघ्रातिशीघ्र अन्त्य होस् ।
प्रतिक्रिया