बनेपाको ग्रिन बेल्टमा बृक्षारोपण

0
Shares

काभ्रे।

रोटरी क्लब अफ काभ्रे भ्याली र रोटरी क्लब अफ काभ्रे बनेपाको संयुक्त आयोजनामा अरनिको राजमार्गको बनेपा खण्ड अन्तर्गत पुलबजारबाट बुडोलसम्मको ग्रिन बेल्ट राजमार्गको दायाँबायाँ बृक्षारोपण शुरु गरिएको छ ।

बनेपालाई हरियाली बनाउने अभियान अन्तर्गत बृक्षारोपण शुरु गरिएको अध्यक्ष अनुपकुमार श्रेष्ठले बताउनु भयो । बृक्षारोपण बिहान, बेलुका र अन्य दिनमा पनि नियमित हुनेछ ।

 

उक्त क्षेत्रमा ८ सय वटा विरुवा रोपण गरिनेछ । कपुर, कल्की, ज्याकराण्डा लगायतका विभिन्न प्रजातिका विरुवाहरु बृक्षारोपणमा समावेश गरिएको छ। बृक्षारोपणका लागि बनेपा नगरपालिका, ग्रिन भ्याली ग्रिन नेपाल, बनेपा ग्रिन इनिसेटिभ नामक संस्थाहरुले सहयोग गरेका छन् ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बृक्षारोपण शुभारम्भ गर्दै बनेपालाई हरियालीसँगै स्वच्छ वातावरणमा राख्न सरसफाई, पार्किङ्ग तथा खानेपानीको ब्यवस्थापनको कार्य प्रारम्भ गरिएको बताउनु भयो । पहिलो चरणमा फुटपाथ ब्यवस्थापन गर्ने र सरसफाईलाई प्राथमिकता दिएको बताउँदै नगर प्रमुख शाक्यले बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिन विभिन्न संघ संस्थाको समन्वय आवश्यक रहेको बताउनु भयो ।

बनेपालाई ग्रिनसिटीका रुपमा विकास गर्न अन्य क्षेत्रमा पनि बृक्षारोपण आवश्यक भएको उहाँले बताउनु भयो । बृक्षारोपण कार्यक्रममा उपप्रमुख विमला सापकोटाले बनेपा नगरपालिकालाई हरियाली बनाउन बृक्षारोपण लगायत ध्वनी र प्रदु्रर्षण नियन्त्रण गर्नु पर्ने बताउनु भयो । नगरपालिकालाई सबै क्षेत्रबाट स्वस्थ राख्न सरसफाईलाई विशेष ध्यान दिदै बृक्षारोपण पछि यसको संरक्षणमा विशेष जोड दिने तयारी गरिएको उपप्रमुख सापकोटाले बताउनु भयो ।

बृक्षारोपण गरिएका सबै विरुवाहरुलाई संरक्षणका लागि बृक्षारोपण सँगै तार जाली लगाउन शुरु गरिएको अध्यक्ष अनुपकुमार श्रेष्ठले बताउनु भयो । ‘बृक्षारोपण गरिनु मात्रै ठुलो कुरा होईन, यसको संरक्षण र नियमित हेरचाह महत्वपूर्ण कुरा हो’–अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘विरुवा हुर्कनु अघि आफ्नो घर अघि रहेका विरुवाहरुलाई नियमित पानी राख्न र संरक्षण गर्न बनेपाबासीहरुलाई अनुरोध गर्दछौं ।’

सोही अभियानमा रोट्रयाक्ट क्लब , इन्ट¥याक क्लब , लायन्स क्लब , जेसीज, वडाअध्यक्षहरु, अन्य जनप्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।