बालोन डीओर मनोनयनमा मेसी परेनन्

0
Shares

लन्डन, (एजेन्सी)

लियोनेल मेसी र नेयमार ३० खेलाडी मनोनयनको नाम सार्वजनिक गरिएको यस पटकको बालोन डीओर २०२२ मा परेनन् । अर्जेन्टिनी स्टार फुटबलर मेसीले बालोन डीओर सर्वाधिक ७ पटक जितेका छन् । तर, उनको नाम भने यसपटक सूचित भएन ।

उनले गत सिजनमा पेरिस सेन्ट जर्मेनका लागि ३४ खेलमा केवल ११ गोल गरेका थिए । यसैगरी, पेरिस सेन्ट जर्मेनमा अर्का खेलाडी नेयमार पनि उक्त सूचीमा पर्न सकेनन् । गत सिजनमा उनले खेल्ने भन्दा पनि चोट बेहोरेका थिए । उनले केवल २८ खेल खेल्न पाएका थिए । तर, उनीहरूका साथी खेलाडी क्लियन एम्बाप्पे भने उक्त सूचीमा पर्न सफल भए ।

यस्तै, बालोन डीओर पाँचपटक जितेका क्रिस्टियानो रोनाल्डो पनि यस पटकको मनोनयनमा सूचित भए । उनले गत सिजनमा आफ्नो टोली म्यानचेस्टर युनाइटेडका लागि ३१ खेलबाट १८ गोल गरेका थिए । यस पटक मेसी नपरे पनि रोनाल्डोले उपाधि जित्ने सम्भावना कमै रहेको बताइएको छ । यसपटक बालोन डीओर जित्ने सम्भावनामा करिम बेन्जेमा रहेको खेलविज्ञहरूको अनुमान लगाएका छन् ।

करिम बेन्जेमाले गत सिजनमा रियल मेड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा उपाधि दिलाएका थिए । बेन्जेमाले गत सिजनमा क्लबका लागि ४४ गोल गरेका थिए । यस्तै, रियल मेड्रिडले सुपर कप जितेको छ । रोनाल्डोले रियल छाडेपछि उनको छायाँबाट बाहिर आएको बेन्जेमाले बताएका थिए ।

यसैगरी, अवार्ड जित्ने सम्भावनामा रहेका अर्का खेलाडी हुन्, रोबर्ट लेवान्डोस्की । हाल बार्सिलोनासँग आबद्ध भएका लेवान्डोस्कीले बुन्डेसलिगामा बायर्न म्युनिखलाई गत सिजनमा उपाधि दिलाएका थिए । यस्तै, बायर्नका लागि उनले ४४ खेलबाट ४८ गोल गरेका थिए । फ्रान्स फुटबल म्यागजिनले पेरिसमा आगामी अक्टोबर १७ मा प्रदान गरिने बालोन डी’ओर अवार्डका लागि ३० जनाको नाम सार्वजनिक गरेको हो ।

मनोनयनमा परेका खेलाडी

रियलबाट ६ खेलाडी मनोनयनमा परेका छन् । यस्तै, इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलबाट पनि समान ६ खेलाडी मनोनयनमा परेका छन् । रियल मेड्रिडका करिम बेन्जेमा, थिवाउट कोर्टुवा, भिनिसियस जुनियर, क्यासमिरो, लुका मोड्रिच र एन्टोनीयो रुडिगर । रुडिगर गत सिजनमा चेल्सीबाट खेलेका थिए ।

लिभरपुलका मोहम्मद सलाह, ट्रेन्ट एलेक्सान्डार आर्नाेल्ड, लुयस डियाज, फाबिन्हो, डार्विन नुनेज र भर्जिल भान डाइक ।
म्यानचेस्टर सिटीका रियाद महारेज, बर्नाडो सिल्भा, फिल फोडेन केभिन डि ब्रुयन, क्यान्सेलो र अर्लिङ हालान्ड । हालान्ड गत सिजनमा बोरुसिया डर्टमन्डमा रहेका थिए ।

अन्यमा रोबर्ट लेवान्डोस्की पनि मनोनयनमा परेका छन् । उनी गत सिजनमा बायर्न म्युनिखबाट खेलेका थिए भने हाल उनी बार्सिलोनाबाट खेलिरहेका छन् । टोटनहामका ह्युङ मिन सन र ह्यारी केन, बायर्न म्युनिखका योसुवा किम्मिख र साडियो माने, एसी मिलानका राफयल लियो र मेक मेइगनान, लाइप्जिङका क्रिस्टोफोर एनकुुकु, बोरुसिया डर्टमन्डका हालेर र युभेन्टस्का डुसान भ्लाहोभिक रहेका छन् ।