प्रहरीको गाडी दुर्घटना

एक मृत्यु, दुई डीएसपीसहित चार घाइते

0
Shares

काठमाडौं ।

रूकुमपूर्वमा नेपाल प्रहरीको गाडी पल्टिँदा १ जना प्रहरी जवानको मृत्यु भएको छ भने दुई प्रहरी नायव उपरीक्षकसहित ४ जना घाइते भएका छन् ।

मृत्यु हुने प्रहरी जवानमा लक्ष्मण पुन मगर रहेका छन् भने घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् ।सदरमुकाम रूकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष टिकासाई घर्तीले जानकारी दिनुभयो ।

सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो । यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले रूकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरामा सुरक्षाकर्मी चढेको जिप दुर्घटनामा परी नेपाल प्रहरीका रूकुमपूर्वका प्रहरी नायब उपरीक्षक डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टरले घटनास्थल पुगेर घाइतेहरूलाई काठमाडौं ल्याएको छ । गृहमन्त्री खाँणले घाइतेको यथाशक्य उपचारको व्यवस्था मिलाउन गृह प्रशासन र रूकुमपूर्व प्रशासनलाई निर्देशन दिनुभएको छ । जिल्लास्थित स्रोतसाधनले घाइतेलाई अस्पतालसम्म पु¥याउन नसकिने भए मन्त्रालयमा खबर गर्न पनि गृहमन्त्रीले निर्देशन दिनुुभएको उहाँको सचिवालयले जनाएको छ ।

रूकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जिप सडकबाट करिब ८० मिटर तल खस्दा डीएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइते हुनुभएको छ भने रूकुमपूर्वका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते हुनुभएको छ । जिपमा छ सुरक्षाकर्मी सवार भएको बताइएको छ ।