राजधानीको फोहोर उठ्न थाल्यो

एकैदिन १ सय ४३ ट्रक ल्यान्डफिल पुगे

0
Shares

काठमाडौं । 

काठमाडौं महानगरपालिकाले हिजो शनिबारबाट राजधानीको फोहोर उठाउन शुरू गरेको छ । सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई विसर्जन थालिएको हो ।

गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेसिनसहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यकालगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।

लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईसहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएका सवारी साधनको तत्काल क्षतिपूर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन शुरू गरेको हो । कामपा वातावरण व्यवस्थापन विभागका ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा शनिबार १ सय ४३ ट्रिप फोहोर ल्यान्डफिल साइटमा विसर्जन गरेको जानकारी दिनुभयो ।
स्थानीय अवरोधका कारण केही दिनयता उपत्यकाका १७ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको थिएन । विभिन्न माग राखी आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार राति फोहोर बोक्ने सवारी साधन तोडफोड गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख राईले अहिले कामपाले क्षतिपूर्ति दिने र पछि तोडफोडको घटनामा संलग्नमाथि कारबाही गरी क्षतिपूर्ति असुल्ने जनाएपछि फोहोर व्यवस्थापन चालु भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हिजो १ सय ४३ ट्रिप व्यवस्थापन गरेका छौं, आजबाट नियमित लैजानेछाैं । कामपाले सडकमा रोकिराखेका, बाटोमा थुप्रिएको फोहोर व्यवस्थापन शुरू गरेको छ ।

यसअघि सोमबार ३२ जना स्थानीयले धुनिबेसी नगरपालिका–१ वडा अध्यक्ष मानबहादुर तामाङलाई वडा कार्यालयमा भेट गरी गएको जेठ २६ गते कामपाका मेयर बालेन्द्र साहसँग भएको १८ बुँदे सहमतिमध्ये एउटा बुँदा पनि कार्यान्वयन नभएको आरोप लगाउँदै फोहोर व्यवस्थापन रोक्न माग गर्दै हस्ताक्षरसहित पत्र पठाएका थिए । त्यसलगत्तै स्थानीयले माग पूरा नभएको भन्दै सवारी साधन तोडफोड गरेका थिए ।

ललितपुरको फोहोर गुपचुप व्यवस्थापन

ललितपुर महानगरपालिकाले महानगरको फोहोर स्थानीय वासिन्दालाई जानकारी नै नदिई वागमती किनारको मल पोखरीमा व्यवस्थापन शुरू गरेको छ ।महानगरक्षेत्रमा दुर्गन्ध बढ्न थालेपछि कीर्तिपुर नगरपालिका क्षेत्रनजिकै मलपोखरीमा व्यवस्थापन गर्न थालेको हो । महानगरपालिकाले मल पोखरीमा फोहोर फ्याँक्न थालेको कारण चोभारलगायत क्षेत्रमा दुर्गन्ध बढेको छ ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले केही समयका लागि थोरै फोहोर मल पोखरीमा व्यवस्थापन गरेको बताउनुभयो । महानगरपालिकालाई सुन्दर बनाउने योजनामा रहेको ललितपुर महानगरपालिकाले बालकुमारीस्थित फोहोर व्यवस्थापन केन्द्रमा समेत स्थान अभाव भएपछि केही दिनको लागि मल पोखरीमा विसर्जन गरेको हो । प्रवक्ता महर्जनका अनुसार अब एक दुईदिनपछि बन्चरे ल्यान्डफिल साइटमै लैजाने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।